राजी बस्तीमा होमस्टे सञ्चालन

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

सुर्खेतको गुर्भाकोट नगरपालिका– १२ राजी बस्तीमा होमस्टे सञ्चालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा आएको हो । 

सुर्खेतमा रहेका राजी समुदाय अल्पसंख्यक जाति रहेको यो जातिमा रहनसहन वेशभूषा र संस्कृति फरक रहेका कारणले पर्यटक प्रवर्द्धन गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएको होमस्टे सञ्चालक सुस्मिता राजीले बताइन् ।

‘प्रदेश सरकारको सहयोगमा होमस्टे सञ्चालनमा आएको छ,’ उनले भनिन्, ‘फरक संस्कृति भएको र फरक पहिचान बोकेको राजी समुदायको संस्कृति, खानपान विषयमा जानकारी दिने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याएका छौँ ।’

राजी समुदायको वेशभूषा र मौलिकता समुदायले पुर्ख्याैलीदेखि गर्दै आएको पेसालाई परिस्कृत गर्ने र उनीहरूलाई पेसागत दक्षतामा जोड्ने उद्देश्यले समुदायलाई  र्‍याफ्टिङ बोट, लाइभ जाकेट एवं ब्याट हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । 

राजी सुमदाय फरक पहिचान बोकेको समुदाय भएका कारणले उनीको फरक पहिचान झल्काउनका लागि होमस्टेसहित उनीको पेसनगत सुरक्षाका लागि केही सामग्री हस्तान्तरण गरिएको प्रदेश सभा सदस्य डम्बरबहादुर विष्टले जानकारी दिए ।

मालारानी गुफाको संरक्षण गरिने

सुर्खेको गुर्भाकोट नगरपालिका– २ मालारानीमा रहेको मालारानी गुफालाई संरक्षण गरिने भएको छ । गुफालाई पर्यटन र रोजगारसँग जोडेर संरक्षणको योजना बनाइने भएको हो । 

मालारानी गुफा पर्यटकीय हिसाबले उपयुक्त क्षेत्र भएको र गुफा सुन्दरता र प्राकृतिक हिसाबले विश्वकै अद्वितीय भएकोले प्रदेश सरकारतर्फबाट एउटा विशेष मास्टरप्लान तयार गरेर मालारानी गुफाका लागि विशेष योजना बनाउने सरकार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढाले बताए । 

कर्णाली प्रदेश राजधानी नजिकै रहेको पर्यटकीय मालारानी गुफाको संरक्षणका लागि कुनै पनि कसर बाँकी नराखिने कर्णाली प्रदेशसभा सदस्य विष्टले जानकारी दिए । 
 

सुझावित समाचार