काठमाडौं/ बंगालको खाडीमा बनेको अर्नब नामक सामुद्रिक आँधी (चक्रवात) थप शक्तिशाली बनिरहेका वेला यसको प्रभावले नेपालमा वर्षा र हिमपातको सम्भावना बढेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै चक्रवात अति शक्तिशाली रूपमा विकसित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको छ । यो प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बिचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट बुधबार जमिनमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस प्रणालीको प्रभावले नेपालमा पनि मौसम प्रभावित हुने मौसमविद् रोजन लामिछानेले बताए । ‘बुधबार पूर्वी नेपालमा बादल लागेर छिटपुट वर्षा हुने देखिन्छ । बिहीबारदेखि फैलिनेछ,’ मौसमविद् लामिछानेले भने, ‘विशेषगरी शुक्रबार र शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रमा बढी प्रभाव पर्ने सम्भावना छ ।’
यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कृषि, यातायात र पर्यटन प्रभावित हुन सक्ने
सम्भावित वर्षाका कारण देशका पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा जनजीवन प्रभावित हुन सक्नेछ । विशेषगरी धानबाली भित्र्याउने समयमा वर्षा भए कृषि कार्यमा असर पर्न सक्ने भएकाले किसानलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणले विशेष सतर्कता अपनाउनुपर्नेछ ।
त्यस्तै, चिसो बढ्न सक्ने, सडक अवरुद्ध हुन सक्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ । मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ ।