नेकपाका दुवै अध्यक्ष आ–आफ्नो अडानबाट पछि हटेपछि अन्ततः बोलाइयो सचिवालय बैठक

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे निकै पेचिलो बनेको सचिवालय बैठक बोलाउने विषय अन्ततः पार्टीका दुवै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नो अडानबाट पछि हटेपछि टुंगो लागेको छ । 

महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग परामर्श गरी भोलि शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक डाकेका छन् । सचिवालय बैठक बोलाउन दुवै अध्यक्ष सहमत देखिएका छन् । 

दुई सातादेखि अध्यक्ष दाहाल अन्य वरिष्ठ नेताहरूको साथमा सचिवालय बैठक डाक्न माग गर्दै आएका थिए । 

अध्यक्ष ओलीले पहिला एजेन्डामा सहमति भएपछि मात्र बैठक बस्ने अडान लिएका थिए । उनले पार्टी विधानअनुसार दुवै अध्यक्षको सहमतिमा बैठक डाक्ने व्यवस्था भएको र त्यसका लागि पहिला एजेन्डामा सहमति हुनुपर्ने अडान राख्दै आएका थिए । हाल उनी यस अडानबाट पछि हेटेको देखिएको छ । 

त्यसैगरी अर्का अध्यक्ष दाहाल पहिला बैठक बोलाउने र सबै एजेन्डा बैठकमा नै राखौँ भन्दै अडानमा थिए । उनले बिहीबार अपराह्न ४ बजेका लागि सचिवालयको अनौपचारिक बैठक डाकेका थिए । 

दाहाल पनि हालका लागि आफ्नो अडानबाट पछि हटेका छन् । दुवै अध्यक्ष केही लचक भएपछि महासचिव पौडेलले बैठक डाकेका हुन् । 

यसअघि यही २१ कात्तिकमा दाहालले धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक डाकेका थिए । जसमा दाहालसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी पाँचजना सहभागी थिए । 

उक्त बैठकपछि  २२ कात्तिकमा सचिवालय बैठक डाक्न भन्दै अध्यक्ष ओलीलाई लिखित माग बुझाइएको थियो । 

त्यसपछि दाेस्रोपटक अध्यक्ष दाहालको आह्वानमा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेको थियो । जसमा पाँचजना सदस्य सहभागी थिए । 

त्यसपछि दाहालले आज बिहीबार अपराह्न ४ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । 

नेकपामा पछिल्लो दुई हप्तायता दाहाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्ने र ओली पक्ष एजेन्डामा सहमति गरेपछि मात्र बोलाउने भन्दै तानातान भएको थियो । 

जसले गर्दा नेकपाको अन्तर्संघर्ष उत्कर्षमा पुगेको देखिन्थ्याे ।

सचिवालय बैठक बोलाइएपछि बैठकमा के–कस्ता गतिविधि हुने हो भन्ने अहिले चासो देखिएको छ ।

सुझावित समाचार