लमजुङको हर्सिङडाँडामा प्याराग्लाइडिङको सफल परीक्षण

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ हर्सिङडाँडामा प्याराग्लाइडिङको परीक्षण सफल भएकोे छ । सोमबार एक दिन सञ्चालन गरिएको प्याराग्लाइडिङमा पोखराको ओपन स्काई प्याराग्लाइडिङ प्रालिले सफल परीक्षण गरेको हो । 

हर्सिङडाँडामा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट नुरेन रानाले बताए । हिमाल तथा फाँटहरूको अवलोकनका लागि प्याराग्लाइडिङ रोमाञ्चक हुने अनुमानका साथ परीक्षण उडान गरिएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । 

प्याराग्लाइडिङको सफल परीक्षणसँगै दृश्यावलोकनका लागि उक्त ठाउँ नयाँ गन्तव्य बन्न सक्ने उनको भनाइ छ । हर्सिङडाँडालाई गाउँपालिकाले पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गर्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । 

अघिल्लो वर्ष सडक सञ्जालसँग जोडिएको हर्सिङडाँडा जाने सडकलाई यस वर्ष स्तरोन्नति गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको छ । गाउँपालिकाले यस वर्ष हर्सिङडाँडामा खानेपानी, शौचालय निर्माणलगायतको संरचना तयार गर्ने योजना बनाएको गाउँपालिका उपाध्यक्ष विकको भनाइ छ । 

हर्सिङडाँडाबाट बुद्ध हिमाल, मनास्लु, ङादीचुली, डा. हर्क पिक, लमजुङ हिमाल, माछापुच्छ्रेलगायत थुप्रै हिमशृंखलाहरू नजिकैबाट नियाल्न पाइन्छ । 

यहाँ गाई, भैंसी, भेँडा–बाख्रालगायतका चाैपायाँकाा लागि राम्रो चरनको व्यवस्था छ ।  समथर परेको घाँसेमैदान हेर्दा मनमोहक देखिन्छ । बेसीसहरदेखि खुदी हुँदै करिब १८ किलोमिटर दूरीमा पर्ने हर्सिङडाँडा समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको छ । 

यहाँबाट रमणीय हिमशृंखलाहरुको दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको गाउँपालिकाले जनाएको छ । यस ठाउँमा ऐतिहासिक महत्वको रूपमा सरदार भक्ति थापाको बाल्यावस्थामा गाई चराउने गरिएको किंवदन्तीसमेत रहेको छ । 

सुझावित समाचार