निर्माणको जिम्मा लिएको ठेकेदारले बेवास्ता गर्दा धवलागिरि गाउँपालिका–५ मल्कबाङको स्वास्थ्यचौकी भवन अलपत्र भएको छ । ग्रामीण भेगका जनताको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।
तीन वर्षदेखि निर्माण सुरु भएको स्वास्थ्यचौकी अझै सम्पन्न हुन सकेको छैन । निर्माण रोकिएको लामो समय हुँदा बनिसकेका संरचनासमेत जीर्ण बन्दै गएका छन् । स्वास्थ्यचौकी नबनेपछि सेवाग्राही मारमा परेका छन् । स्वास्थ्यचौकीको सेवा प्रवाहसमेत प्रभावित बनेको छ । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाही गर्दा भवन बन्न नसकेको स्थानीयको भनाइ छ ।
भवन अलपत्र पर्दा मल्कबाङवासीले पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ । दुईतले १४ कोठे भवनमा बिरामीको उपचारका लागि शय्या, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्ष रहने गरी ठेक्का सम्झौता भएको थियो । तर, भवनको एक तला ढलानबाहेकको काम बाँकी छ ।
पहिलो तला बनाएर ठेकेदार बेपत्ता
सुविधासम्पन्न भवन निर्माण सुरु भए पनि पहिलो तला ढलान गरेपछि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर नआएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन् । उनका अनुसार मौखिक रूपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचनासमेत भग्नावशेषमा परिणत हुँदै गएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट भवन निर्माण गर्न प्रतिस्पर्धामार्फत वर्ल्डवाइड मालिका भगवती जेभीले तीन वर्षअघि एक करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
स्थानीय जनता निराश
दुर्गम बस्तीमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन बन्ने भएपछि उत्साहित बनेका स्थानीयवासी भवन अलपत्र बनेसँगै निराश बनेका स्थानीय युवा दलमान छन्त्यालले बताए । ‘वर्षदिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जीर्ण बन्ने जोखिम बढेको छ,’ उनले भने । सडक सञ्जालको पहुँच पुगेर ढुवानीमा सहज हुँदासमेत निर्माण कम्पनीले भवन निर्माणलाई अघि बढाउन आनाकानी गरेको स्थानीयको गुनासो छ ।
ठेकेदार भन्छ– कोरोनाले मार पार्यो
निर्माण कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले कोरोना महामारीका कारण बाहिरबाट मजदुर लैजान समस्या भएकाले निर्माण कार्यलाई अघि बढाउन समस्या भएको बताए । उनले भवन निर्माण सुरु गर्दा सडक सञ्जाल नपुगेका कारण खच्चड र मानिसबाटै सामग्री ढुवानी गरी निर्माण कार्यलाई अघि बढाएको बताउँदै हालै गाउँ सडक सञ्जालले जोडिएको र सामग्रीलाई सवारी हुँदै ढुवानी गर्ने तयारी गरेको जानकारी दिए । उनले बाहिरबाट मजदुर लैजान सकिने अवस्था नरहेकाले स्थानीय मजदुरबाट नै योजनालाई अघि बढाउने योजना बनाएको बताए ।
यसअघि, सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत हेर्ने यस योजना भर्खर बाग्लुङमा कार्यालय स्थापना भएको सघन सहकारी तथा भवन निर्माण आयोजना बाग्लुङमार्फत अघि बढ्ने भएको छ । विगतमा निर्माण सुरु भएर अलपत्र बनेका भवनको सन्दर्भमा सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिलाई पत्र लेखेर ताकेता गर्न थालिएको कार्यालय प्रमुख विदुर खड्काले जानकारी दिए ।
जीर्ण भवनको सेवा जोखिमपूर्ण
मल्कबाङमा रहेको जीर्ण भवनबाट सेवा लिन जोखिमपूर्ण रहेको छ । साँघुरो र जीर्ण भवनसँगै फराकिलो स्थानमा समेत नरहेकाले अहिलेको भवनबाट सेवा लिन कठिनाइ भएको स्थानीय युवा अमर छन्त्यालले बताए । सो भवनबाट मल्कबाङ, मलम्पार, भेडिखाल्टालगायतका स्थानीयवासीले दैनिकजसो सेवा लिँदै आएका छन् । पुरानो भवनबाट जोखिमपूर्ण तवरले सेवा प्रवाह गर्नुपर्ने र अर्कोतर्फ नवनिर्मित भवन अलपत्र परेपछि स्थानीयमा निराशा छाएको छन्त्यालले बताए ।