भारतीय मिडियाको गहिरिँदो संकट

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

अर्नव र उनको च्यानल सत्ताको कुनै खास गुटको फोहोरी प्रचारक र प्रोपोगान्डा फोरम हो

देशको मिडिया र राजनीतिमा बितेका केही घन्टायता मुम्बई पुलिसद्वारा एउटा न्युज च्यानलका प्रमुखलाई गैरपत्रकारिताको मामिलामा पक्राउ गरिएको विषयमा वादविवाद चलिरहेको छ । पक्राउ गर्नुको कारण दुईजनाको आत्महत्यासँग जोडिएको छ । जाहेरीमा न्युज च्यानलका प्रमुख अर्नव गोस्वामीलाई ती दुई व्यक्तिको आत्महत्याका लागि जिम्मेवार ठहर गरिएको छ । ती व्यक्ति हुन्– अन्वय नाइक र उनकी आमा कुमुद नाइक । आरोपपत्रका अनुसार अर्नवले अन्वय नाइकसँग आफ्नो स्टुडियोको निर्माण गराए र त्यसको रकम भुक्तान गरेनन् । आर्थिक अभावका कारण आमा–छोरा दुवैले आत्महत्या गरे । यो घटना सन् २०१८ को हो । के पनि भनिँदै छ भने तत्कालीन भाजपा सरकारले यो मुद्दामा अनुसन्धान हुन दिएन र मुद्दालाई थन्क्याइदियो । यति खेर अर्नवको शैली र व्यवहारबाट असन्तुष्ट शिवसेना सरकारले त्यो दबाइएको मुद्दालाई फेरि सतहमा ल्याइदियो । र, गोस्वामी ४ नोभेम्बरका दिन पक्राउ परे ।

म कानुनको विज्ञ होइन । तर, सचेत नागरिकका रूपमा के बुझ्न अप्ठेरो छैन भने अर्नव र उनको च्यानलले महाराष्ट्रको सेना–एनसिपी–कंग्रेसको गठबन्धन सरकार, मुख्यमन्त्री ठाकरे र उनको परिवारलाई पछिल्ला दिनमा जसरी गुटको राजनीतिबाट प्रेरित भएर ‘शत्रुतापूर्ण व्यवहार’द्वारा निसाना साध्दै थिए, त्यसैकारण सरकार पनि उनलाई ठीक पार्न चाहन्थ्यो । अर्नवको भाषा, टुक्का र शब्दबाट पनि उनको व्यवहारलाई दाँज्न सकिन्छ । अर्नवका खिलाफ प्रशासनले जसै यो मामिला भेट्यो, कार्बाहीका लागि पर्याप्त थियो । अर्नव र उनको च्यानलका खिलाफ मुम्बई पुलिसमा अन्य मामिलामा पनि अनुसन्धान भइरहेको छ । 

सबैभन्दा पहिले म के कुरा स्पष्ट पार्न चाहन्छु भने अर्नव गोस्वामी र उनको च्यानललाई मैले पत्रकारिताको दायराबाट हेर्दिनँ । अर्नव र उनको च्यानल सत्ताको कुनै खास गुटको फोहोरी प्रचारक र प्रोपोगान्डा फोरम हो । भाजपा–आरएसएससँग सहानुभूति राख्ने दुई दर्जनभन्दा धेरै पत्रकारसँग मेरो सम्बन्ध छ । केहीले हामीसँग काम पनि गरिसकेका छन् । हामीबीच असहमति छन्, तर हामीले एकअर्कालाई पत्रकारका रूपमा नै बुझ्छौँ । अर्नव या उनीजस्तै तीन–चारजना, जो बारम्बार चर्चा र विवादमा आइरहन्छन्, उनीहरूले सत्तामा आफ्नो राम्रो हैसियत बनाइसकेका छन् । तर, जुन कुनै दिन वस्तुपरक मिडिया इतिहास लेखियो भने त्यहाँ निश्चय नै यिनीहरूको नाम हुनेछैन । यति हुँदाहुँदै पनि म के ठान्छु भने अर्नवका साथ प्रहरीले जसरी कार्बाही गर्यो, त्यो निःसन्देह बदलाको भावनाबाट प्रेरित छ ।

यदि पहिलेको देवेन्द्र फणनविस सरकारले सन् २०१८ मा यस मामिलामा अर्नवका खिलाफ दायर गरिएको मुद्दा रफादफा गरेको हो भने त्यति वेला सरकारमा सामेल शिवसेनाले किन सवाल उठाएन ? त्यति वेला यस मामिलामा पूरै अनुसन्धान हुनुपर्छ भनेर उसले किन भनेन । हालै भएको कार्बाही कानुनी रूपमा सही छ भने पनि एउटा कुरा स्पष्ट छ, यसमा पत्रकारिताको कुनै पनि कोण जोडिँदैन । त्यसैले यो पत्रकारितासँग सम्बन्धित विषय नै होइन । अर्नवको विषयलाई लिएर केन्द्रीय सत्ताधारी दल, सरकार र त्यससँग उभिएका पत्रकारको ठूलो हिस्साले आज चौथो अंगमाथि हमला भएको ठानिरहेका छन् । हुँदाहुँदा उनीहरूले यसलाई संकटकालसँग दाँज्दै अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने हरकत बताइरहेका छन् । म पनि भन्दै छु यस मामिलामा महराष्ट्र सरकारको नियत त्यति सफा छैन । वास्तवमा हाम्रो देशमा चारैतिर प्रतिशोध, नफरत र गुटको प्रतिद्वन्द्विताबाट प्रेरित कार्बाहीले आकाश छुँदै छ । जसलाई ४ नोभेम्बरका दिन अचानक मार्टिन निमोलरको कविता सम्झना भयो, उनीहरूलाई थाहा छैन र ? देशको विभिन्न ठाउँबाट ५५ भन्दा धेरै पत्रकारलाई पक्राउ गरिएको छ । कुनै न कुनै मामिलामा फसाइएको छ । यस्ता अधिकांश मामिला वैचारिक प्रतिशोध वा नफरतबाट प्रेरित छन् । 

इकनोमिक एन्ड पोलिटिकल विक्लीजस्तो प्रतिष्ठित पत्रिकाका एसोसिएट एडिटर रहिसकेका वरिष्ठ पत्रकार गौतम नवलखा यतिखेर जेलमा छन् । उनलाई भिमा कोरेगाउँसँग जोडिएको मनगढन्ते मामिलामा फसाइएको छ । द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजन, हिमाचलका विशाल आनन्द, ओम शर्मा, अश्विनी सैनी, द स्क्रोलकी सम्पादक सुप्रिया शर्मा, दिल्लीका प्रशान्त कनौजिया, दिल्लीबाट हाथरस मामिलामा रिपोर्टिङ गर्न गएका मलयालमका पत्रकार सिद्दिक कप्पन, युपीका रवीन्द्र सक्सेना, आशिष अवस्थी र मनिष पाण्डेसहित यस्ता कैयौँ पत्रकार छन्, जसलाई कि त जानी–जानी फसाइएको छ कि पक्राउ गरिएको छ । यिनैमध्ये केही जेलमा छन्, केही जमानतमा छुटेका छन् । नवलखा त कैयौँ महिनादेखि जेलमा छन् । पूर्वोत्तरमा कैयौँ पत्रकारलाई पटक–पटक पक्राउ गरिएको छ ।

(उर्मिलेश भारतका वरिष्ठ पत्रकार हुन्)
जनचौकबाट 

 

सुझावित समाचार