बेपत्ता भएका ट्याक्टरचालक महिना दिनसम्म भेटिएनन्

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

चन्दननाथ नगरपालिका– ९ बयालकाटियाका २५ वर्षीय धन गिरी ट्याक्टरचालक हुन् । 

उनी सोही नगरपालिका– ५ कालेखोलीकी रेणु शाहीको लु.३ त ९६२२ नम्बरको ट्याक्टर चलाउँदै आएका थिए । 

चालक गिरी गएको १५ असोजमा गुठीचौर गाउँपालिका– १ मुणिसाँघुका कर्ण बस्नेतको घरमा सामान छोडेर रित्तो ट्याक्टर लिएर जुम्लाको सदरमुकाम खलंगा फर्कने क्रममा सोही गाउँपालिका– ५ लामाकार भन्ने स्थानबाट बेपत्ता भएका थिए ।

आफ्नो भाइलाई केही मानिसहरू मिलेर बेपत्ता पारेको उनका दाइ भैरे गिरीको आरोप छ । उनले महिना दिन पुग्दासमेत बेपत्ता भएका आफ्नो भाइका बारेमा राम्रोसँग छानबिनसहित खोजी नभएको बताए । 

घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न पीडितका आफन्तले माग गरेका छन् ।  पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी उजुरी दर्ता गरेको छ । 

उक्त घटनामा संलग्न रहेको आरोपमा गुठीचौर गाउँपालिका– ५ का विमल महत, द्वन्द्वबहादुर शाही, सागर गिरी र विनोद गिरीलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । 

त्यसैगरी ट्याक्टरमालिक रेणु शाहीलाई पनि प्रहरी नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ । 

उनले प्रहरीले निरन्तर घटनाको अनुसन्धानमा खटिएको बताए ।

सुझावित समाचार