एन्टमा ८ सय ७२ गुणा बढी आवेदन, साना लगानीकर्ताबाटै ३० खर्बको सेयर माग

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

अर्बपति ज्याक माको वित्तीय सेवाप्रदायक कम्पनी एन्ट ग्रुपले निष्कासन गरिरहेको प्राथमिक सेयरमा खुद्रे (साना) लगानीकर्ताबाटै ३० खर्ब डलर (३ हजार ५ सय १० खर्ब रुपैयाँ) बराबरको माग परेको रोयर्टस्ले उल्लेख गरेको छ । विश्व बजार अस्थिर र अनिश्चित भइरहँदा एन्टको सेयरमा भएको यो लगानी अमेरिकाको कुल गार्हस्थ्य उत्पादनबराबर हो, त्यो पनि अमेरिकी राष्ट्रपतिको निर्वाचनभन्दा एक साताअघि ।

विश्वको हालसम्मकै ठूलो परिमाण ३४ अर्ब ४० करोड डलर (४० खर्ब २४ अर्ब  रुपैयाँ) को प्राथमिक सेयरमा पारिवारिक तथा खुद्रे बचतकर्ता (मम एन्ड पप सेभर्स)हरूले लगानी बढाएपछि यो परिमाणमा आवेदन परेको हो । यसले गत वर्ष डिसेम्बरमा २९ अर्ब ४० करोड डलरबराबरको सेयर जारी गरेको साउदी एराम्कोको रेकर्ड तोडेको छ ।

एन्टले निष्कासन गर्ने सेयर सांघाई र हङकङ स्टक एक्सचेन्जमा सूचीकरण हुनेछ । मुलुकभित्र र बाहिरसमेत छानबिनको ठूलो जोखिम रहेको भए पनि चीनको ठूलो भुक्तानी प्रदायक एन्टमा खुद्रे र संस्थागत दुवै खाले लगानीकर्ताको आकर्षण उच्च दखिन्छ । 

सांघाईमा सूचीकरण हुने गरी १७ अर्ब २३ करोड सेयर जारी गरिएकोमा खुद्रे लगानीकर्ताले २८ खर्ब डलर लगानी गरेका छन् । यो वर्गका लागि छुट्याइएको सेयरमा बिहीबारसम्म ८ सय ७२ गुणा बढी आवेदन परेको हो । हङकङमा सूचीकरण हुने गरी १७ अर्ब २३ करोड सेयर जारी गरिएकोमा पनि खुद्रे लगानीकर्ताबाट १ खर्ब ६८ अर्ब डलरको आवेदन परेको छ ।

यो वर्गका लागि छुट्याइएको सेयरमा शुक्रबारसम्म ३ सय ८९ गुणा बढी आवेदन परेको हो । हङकङको आइपिओका लागि बुकबिल्डिङ सोमबारदेखि शुक्रबारसम्म र सांघाईको बिहीबार एक दिनका लागि मात्र खुला गरिएको थियो ।  वित्तीय सेवा प्रवाहमा चीनमा बढ्दो डिजिटलाइजेसनले कम्पनीलाई भावी दिनमा लाभ पुग्ने अनुमानमा पनि लगानीकर्ता आकर्षित भएका हुन् । 

लोभलाग्दो भविष्य
सन् २००४ मा भुक्तानी प्रदायकका रूपमा उदाएको एन्टले चीनमा विशाल साम्राज्य तयार गरेको छ । कम्पनीले केही मिनेटमै अल्पकालीन ऋण जारी गर्ने, बिमा पोलिसी र लगानी प्रडक्टहरू बेच्ने गर्छ । 

एन्टको सेयरमा परेको अभूतपूर्व आवेदन विशेष गरी उच्च दरमा वित्तीय संस्थाहरूले प्रदान गरेको मार्जिन कर्जाहरूको कारण पनि सम्भव भएको हो । वित्तीय संस्था ब्रोकेजहरूले हङकङमा अर्बौँ रुपैयाँ कर्जा जारी गरेका छन् । एन्टले ग्रिन सु भनिने विकल्प रोज्यो । जसमा कुल जारी सेयरभन्दा माग बढी परेमा १५ प्रतिशतसम्म सेयर संख्या वृद्धि गर्न सकिन्छ ।

ग्रिन सु प्रणालीमा जानुअघि कम्पनीले मुलुकभरका खुद्रे लगानीकर्ताका लागि निष्कासनको ४ प्रतिशत (१ अर्ब ६७ करोड कित्ता सेयर) छुट्याएको थियो । बढी आवेदन गर्दा बढी सेयर पाइने अपेक्षामा लगानीकर्ताले लगानी बढाएका छन् ।

धेरैले चीनबाट ठूलो परिमाणमा सेयर जारी हुने क्रम सुरु भए पनि यति चाँडो हुने अपेक्षा नगरेको बताएका छन् । चीनको जनसंख्या र बढ्दो अर्थतन्त्रको आकारका आधारमा यो निष्कासन स्वाभाविक भएको र धेरैले एन्टको सुनौलो भविष्य देखेर लगानी गरेको धारणा सार्वजनिक गरेका छन् । 

– रोयर्टस्बाट

सुझावित समाचार