मुकेश चौरासिया हत्या : सरकारी वकिल कार्यालयमार्फत पूर्वसांसदसहित १२ जनाविरुद्ध जाहेरी

शुक्रबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको हत्या घटनामा प्रहरीले जाहेरी नलिएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरीसहित निवेदन दर्ता गरिएको छ । बिहीबार मृतक मुकेशका भाइ महेश चौरसियाले जाहेरीसहित निवेदन दिएका हुन् । 

६ कात्तिकमा बिन्दबासिनी गाउँपालिका–५ प्रसौनी भाठामा नेकपाको गाउँ कमिटीको शपथग्रहण समारोहमा झडप भएको थियो । कुटपिटबाट मुकेश गम्भीर घाइते भएका थिए । उनको ७ कात्तिक बिहान वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

यस घटनामा उनका परिवारजनले प्रहरीमा जाहेरी दिएका थिए । तर, पर्सा प्रहरीले जाहेरी दर्ता गरेको थिएन । त्यसपछि मुकेशका भाइ महेशले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरीसहित निवेदन दिएका हुन् । वकिलको कार्यालयमा दिएको निवेदनमा १२ जनामाथि कारबाहीको माग गरिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले उनको जाहेरी जिल्ला प्रहरी कार्यालयलाई दिएको छ । बिहीबार नै जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको सरकारी वकिलको कार्यालयका वकिल पदम कार्कीले बताए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयकी एसपी गंगा पन्तले सरकारी वकिलको कार्यालयमार्फत आएको जाहेरी दर्ता भएको बताइन् । ‘मृतक मुकेशका भाइ महेशले वकिलको कार्यालयमार्फत दिएको जाहेरीसहितको निवेदन दर्ता भएको छ । अब निवेदनमा अनुसन्धान गरेर कारबाही अगाडि बढाउँछौँ,’ एसपी पन्तले भनिन् । जिल्ला सरकारी वकिलको कार्यालयमा १९४ नम्बरमा र जिल्ला प्रहरी कार्यालयमा १९० नम्बरमा दर्ता भएको छ । 

कोकोमाथि जाहेरी दर्ता ?
मुकेशको हत्यामा संलग्न रहेको आरोपमा उनका भाइले १२ जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । नेकपाका नेता एवं पूर्वसांसद राजकुमार गुप्ता, धीरज चौहान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मिया, सञ्जय चौहान, हनिफ मिया देवान, देवा सहनी मलाह र जनार्दन चौहानविरुद्ध जाहेरी परेको हो । उनीहरूमध्ये हनिफ मिया देवान र देवा सहनी मलाह प्रहरी नियन्त्रणमा छन् । दुवैजनालाई ६ कात्तिकमै पक्राउ गरिएको थियो । 

एकसातादेखि प्रदर्शन
मुकेशको हत्या घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै एकसातादेखि प्रदर्शन हुँदै आएको छ । बिहीबार पनि नेकपाका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् । 

पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले शव बुझेका छैनन् । जिल्ला प्रहरी कार्यालयअगाडि शान्तिपूर्ण प्रदर्शनमा सहभागीले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् । प्रदर्शनमा नेकपाका प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, नेकपा केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापालगायत नेता–कार्यकर्ताको सहभागिता रहेको छ । 

सुझावित समाचार