कोरोना कहरबीच भारतमा सिनेमा हल सञ्चालनमा

बिहिबार, २८ असोज, २०७७
डिजिटल संस्करण

एक सोमा ५० प्रतिशत मात्र दर्शक हुनुपर्ने, अनलाइनबाटै टिकट काट्ने व्यवस्था

कोरोना भाइरस महामारीका बीच बिहीबारदेखि भारतमा सिनेमा हल सञ्चालनमा आउने भएको छ । भारत सरकारले गत सेप्टेम्बरमै १५ अक्टोबरदेखि हल सञ्चालन गर्न अनुमति दिएको हो । सोही निर्णयअनुसार एउटा राज्यबाहेक भारतका सबै ठाउँमा हल सञ्चालनमा आउन लागेको भारतीय मिडियाहरूले जनाएका छन् । एक सोका लागि ५० प्रतिशत मात्र दर्शक हुनुपर्ने, अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्नुपर्ने सरकारले मापदण्ड बनाएको छ । कोरोना संक्रमण फैलिएसँगै भारतमा चैतदेखि सिनेमा हल बन्द गरिएको थियो ।

केन्द्र सरकारले हल खुलाउन अनुमति दिएसँगै मल्टिप्लेक्स र सिंगल थिएटरहरू प्रदर्शनका लागि तयार भएर बसेका छन् । तर, हल खुले पनि ओटिटीमा प्रदर्शन भएका फिल्म प्रदर्शन गर्न हल सञ्चालकले अस्वीकार गरिदिएका छन् । ओटिटीमा सबैभन्दा पहिला अमिताभ बच्चन र आयुषमान खुरानाको ‘गुलाबो सिताबो’ प्रदर्शन भएको थियो । यसपछि साना तथा ठूला बजेटका फिल्म निर्माताले सीधै ओटिटीमा प्रदर्शन गरेका थिए । अझै केही सिनेमा डिजिटल प्लेटफर्मममा प्रदर्शन हुने तयारीमा पनि छन् । हलहरू सञ्चालकहरू सुरुवातमा ‘शुभ मंगल सावधान’, ‘मलंग’, ‘केदारनाथ’, ‘थप्पड’, ‘तानाजी’ ‘वार’जस्ता सिनेमा पुनः प्रदर्शन गर्ने तयारीमा छन् । 

मल्टिप्लेक्स सञ्चालकहरूले आगामी तीन महिनामा प्रदर्शन हुने सिनेमाको सूची पनि प्रकाशित गरिसकेका छन् । नोभेम्बरमा ‘बन्टी और बबली २’, ‘इन्दुकी जवानी’, ‘छलांग’, ‘सन्दीप और पिंकी फरार’, ‘९९ संग्स्’, ‘मीमी’ र ‘टेनेट’, डिसेम्बरमा ‘८३’, ‘रुही अफजाना’, ‘डेथ अन द नाइल’, ‘वन्डर वुमेन’, ‘ड्युन’ तथा जनवरीमा ‘सूर्यवंशी’, ‘सरदार उधम सिंह’, ‘केजीएफ २’, ‘आधार’लगायत सिनेमा प्रदर्शन हुनेछन् ।  यस अवधिमा चर्चित अभिनेताका चलचित्र पुनः प्रदर्शन पनि हुनेछन् । ऋषि कपुर तथा इरफान खानका सिनेमा पुनः प्रदर्शन गर्ने तयारीमा हलहरू छन् । साथै, बंगाली, तमिल, तेलगु, मलायाली भाषाका सिनेमा पनि प्रदर्शन हुनेछन् । 

नोभेम्बरदेखि नयाँ फिल्मको अभाव नहुने वितरकहरूको अनुमान छ । अक्टोबरमा ‘वार’ र ‘तानाजी’ दिल्ली सर्किटमा प्र्रदर्शन हुनेछन् । ‘छिछोरे’लगायत आठ महिनाअघि प्रदर्शन भएका सिनेमा एकैदिनमा फरकफरक सोमा प्रदर्शन हुनेछन् । ‘लक्ष्मी बम्ब’, ‘कुली नम्बर वान’लगायत सिनेमा ओटिटीका साथै सिंगल थिएटरमा प्रदर्शन गर्नेबारे पनि छलफल भइरहेको भारतीय मिडियाले जनाएका छन् । तर, मल्टिप्लेक्स सञ्चालकहरू ओटिटीमा गएका सिनेमा प्रदर्शन नगर्ने अडानमा छन् । अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ ९ नोभेम्बरमा डिज्नी प्लस हटस्टरमा प्रदर्शन हुँदै छ । 

ओटिटीमा रिलिज भएका सिनेमा हलमा नलाग्ने
लकडाउनको क्रममा ओटिटीमा प्रदर्शन भएका सिनेमा लगभग हलमा प्रदर्शन नहुने पक्काजस्तै भएको छ । ‘दिल बेचरा’, ‘सडक २’, ‘शकुन्तला देवी’, ‘खुदा हाफिज’, ‘गुन्जन सक्सेना द कारगिल गर्ल’, ‘गुलाबो सिताबो’लगायत फिल्म ओटिटीमा रिलिज भएका थिए । यी फिल्मका निर्माताले आफ्नो फिल्म ओटिटीमा प्र्रदर्शन गर्ने निर्णय लिएपछि हल सञ्चालकहरूले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । उनीहरूले केही निर्माताले ओटिटीमा आफ्ना फिल्म प्रदर्शन गर्ने निर्णयले आफूहरू निराश भएको अभिव्यक्ति दिएका थिए । निर्माताको ओटिटीमा जाने निर्णयमाथि आफूहरूले हल खुल्नासाथ प्रदर्शन गरिदिने वचन पनि दिएका थिए । तर, निर्माताहरूले हल सञ्चालकको कुरा सुनेनन् । 

नेपालमा कहिले खुल्ला ? 
कोरोनाका कारण लकडाउन नभएको भए ‘प्रेमगीत ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘चपली हाइट ३’ जस्ता चलचित्र प्रदर्शन भइसकेका हुन्थे । निर्माताहरूले आफूले पाउनुपर्ने हिसाब पनि लिइसकेका हुन्थे । तर, यी चलचित्र यतिकै थन्किएर बसेका छन् । कहिले र कसरी प्रदर्शन हुने हो, निर्माता, हल सञ्चालक, वितरक अन्योलमा छन् । यस वर्षको दसैँलाई केन्द्रमा राखेर कलाकार तथा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’, झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ४’, नारायण रायमाझीको निर्देशनमा बन्ने ‘परदेशी २’ र ‘प्रेमपूजा’ प्रदर्शन हुने बताइएको थियो । तर, कोरोनाका कारण चलचित्रहरू छायांकनमै जान सकेनन् । 

केही साताअघि चलचित्र विकास बोर्ड, चलचित्र संघ र निर्माता संघले हल सञ्चालन, छायांकनको वातावरण मिलाइदिन नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई प्रस्ताव बुझाएको थियो । तर, सिसिएमसीको निर्णय अहिलेसम्म आएको छैन । यस हिसाबले अब दसैँअघि नै नेपालमा हलहरू खुल्ने सम्भावना न्यून देखिएको छ । विकास बोर्डले भने सिनेमा रिलिज गरेमा सहुलियतको व्यवस्था गरिदिने बताइसकेको छ । 

See More On

सुझावित समाचार