भेरी अस्पतालको लापरबाही, कोरोना संक्रमितको रगत समूह नै गलत

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

सिसा परियोजना, खजुराका एकाउन्टेन्ट वसन्त पराजुलीलाई लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उनका साथीभाइले १२ असोजमा भेरी अस्पतालको कोभिड– १९ वार्डमा भर्ना गरे । ११ असोजमा कोरोना पुष्टि भएका उनलाई ज्वरोसँगै झाडापखालाको समस्या थियो । भेरी अस्पतालको कोभिड वार्डमा आठ दिन बिताए । तर, निको हुनुको साटो स्वास्थ्य समस्या झन्–झन् बिग्रिँदै गएपछि उनी आत्तिए ।

ज्वरो र झाडापखाला नरोकिएपछि अस्पतालले रगत चढाउनका लागि उनको रगतसमूह जाँच गर्यो । उनको रगतसमूह ओ पोजेटिभ भएको रिपोर्ट भेरी अस्पतालको इम्युनोलोजी विभागले दियो । तर, उनले अस्पतालको रिपोर्टमा विश्वास गरेनन् । किनकि, उनलाई आफ्नो रगतसमूह बी पोजेटिभ भएको पहिले नै थाहा थियो । अस्पतालको प्याथोलोजी रिपोर्टले उनी झनै तर्सिए । 

अस्पतालले उनलाई रेमडिसिभिर औषधि दिन खोज्यो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले उक्त औषधिले स्वास्थ्य झनै बिग्रिने भनेको भन्दै उनका परिवारका सदस्य र साथीभाइले उक्त औषधि नचलाउन अस्पताललाई दबाब दिन लगाए । अस्पतालको क्रियाकलाप र गलत रिपोर्टले तर्सिएका पराजुली र उनका परिवारका सदस्यले उनलाई काठमाडौंको ह्याम्स अस्पताल लैजाने निधो गरे । 

काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएपछि उनी निको भएका छन् । उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । नयाँ पत्रिकासँग फोनमा कुरा गर्दैै उनले भेरी अस्पतालमा रहँदा बाँच्ने आशा मार्दै गएको बताए । ‘छेउको बेडमा रहेका कोरोना संक्रमित आँखाअगाडि धमाधम मरेको देख्दा मन झनै आत्तिन्थ्यो । कोरोना संक्रमितले राम्रोसँग उपचार पाएको भए बाँच्थे होला । त्यहाँ त उपचार नपाएर बिरामी मरिरहेका छन्,’ उनले भने, ‘म पनि त्यहाँ भइरहेको भए मर्थें होला । धन्न समयमा बुद्धि पुर्याएँ ।’ 

बाँकेमा हालसम्म ३७ को मृत्यु
भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २५ जना बाँकेका र १२ जना बाहिरी जिल्लाका कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षदेखि ८२ वर्ष उमेरका छन् । मृत्यु भएका अधिकांशलाई कोरोना संक्रमणपछि निमोनिया भएको अस्पतालले जनाउँदै आएको छ । कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या भएका बिरामीलाई रेमडिसिभिर र प्लाज्मासमेत दिइँदै आएको छ ।

कोरोना संक्रमित बिरामीलाई रेमडिसिभिर औषधि प्रयोग गर्ने सरकारबाट अनुमति पाएपछि जटिल समस्या देखिएका बिरामीलाई उक्त औषधि दिन थालिएको अस्पतालका कोभिड–१९ वार्ड व्यवस्थापक वरिष्ठ सर्जन डा. श्यामसुन्दर यादवले बताए । 

मृत्यु भएकामध्ये अधिकांश बिरामीलाई रेमडिसिभिर औषधि दिइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउँदै आएका छन् । उनले हरेक दिन कोरोनाबाट मृत्यु भएकाबारे दैनिक रिपोर्टमार्फत जानकारी गराउँदै आएका छन् । जारी रिपोर्टमा रेमडिसिभिर औषधि दिँदासमेत बिरामीलाई जोगाउन नसकिएको उल्लेख हुने गरेको छ । ‘बिरामीलाई रेमडिसिभिर औषधि दिँदासमेत बचाउन सकिएन,’ श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख छ । 
 

सुझावित समाचार