महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित विशेष अप्रेसन थालेको छ । चाडपर्वमा उपत्यकाबाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा लिई टिकट काट्ने पाँचजनालाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ । कोटेश्वर क्षेत्रको काउन्टरबाट विमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको, तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरुन्तै कारबाही गरिने बताए ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारबाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरूलाई कारबाहीको दायरामा ल्याउने गरेको छ । यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ ।
पक्राउ पर्ने व्यक्तिलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको महाशाखाले जनाएको छ ।