कालिमाटीमा माछा पसल अनुगमन : धमाधम सटर बन्द गर्दै भागे व्यापारी

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौंको कालिमाटीमा रहेका माछा पसलमा अनुगमन टोली पुगेपछि व्यापारीको भागदौड मच्चिएको छ । 

सोमबार बिहान माछा पसलहरूको अनुगमनमा काठमाडौं महानगरको टोली आएको थाहा पाएपछि व्यापारीहरू पसलको सटर बन्दै गर्दै भागेका हुन् । 

अनुगमन टोलीले एकातिरबाट अनुगमन थाल्दै गर्दा अर्कोतिरका १५ वटा पसलका व्यापारी सटर तानेर भागिसकेका थिए । कालिमाटी तरकारी बजारको छेउमा २६ वटा माछा पसल छन् । 

महानगरको अनुगमन टोली बजारमा पुगेर फलफूल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मूल ढोकातर्फका १५ वटा पसलका व्यापारी सटर तानेर भागेका थिए ।

कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले भ्याएनन् । व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको नाै किलो सडेको माछा जफत गर्दै थियो ।

‘आइस हाल्न बिर्सेंछु । माछा त्यति त बिग्रेको छैन । अलिअलि मात्र हो,’ माछा पसलका सञ्चालक मोहम्मद मज्लुम मियाँ आफूलाई बचावट गर्दै थिए । 

किन भागे व्यापारी ? 
अनुगमनमा पुगेका महानगरका पशु सेवा विभागका पशु सेवा अधिकृत डम्मरबहादर बम भन्छन्, ‘माछाको गुणस्तरमा भन्दा, खरिद–बिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हुन् । अनुगमनका क्रममा हेरिएका पसलहरूमध्ये धेरैमा दर्ता, नवीकरण र खरिद–बिक्री बिलमा समस्या देखियो ।’

खरिद–बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ गरिएको हो ? भन्ने कुरा थाहा हुँदैन । 

अनुगमनका क्रममा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भन्छन्, ‘खरिद–बिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।’ 

काठमाडौं माछा बजार समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवले भने आफूहरूले अनुगमनको स्वागत गरेको बताए । 
उनले  कानुन नमान्ने व्यापारीलाई आफूहरू पनि कारबाही गर्नुपर्ने भन्ने पक्षमै रहेको बताए । 

सुझावित समाचार