चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवनरक्षाको माग गर्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।
अनशनको २०औँ दिन पुग्दासमेत सरकारले केसीका माग पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागी युवाले बताए । भदौ २९ बाट अनशन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।
प्रदर्शनमा सहभागी युवाले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन् । केसीको श्वास–प्रश्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल केसीले राखेका माग पूरा गर्न माग गरिएको हो ।
केसीको उपचारमा संलग्न चिकित्सकहरूले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियूमा उपचार गर्नुपर्ने बताए पनि केसीले मानेका छैनन् । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहलसमेत नगरेको उनीहरूको आरोप छ ।
माइतीघर मण्डलामा युवाहरूले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारासमेत लगाएका थिए । केसीले ६बुँदे माग अघि सार्दै जुम्लाबाट अनशन सुरु गरेका हुन् । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग उनले राखेका छन् ।