चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरेको सत्याग्रहको १८औँ दिनमा बोलेको सरकारले उनका माग पूरा भइसकेको बताएको छ । बिहीबार आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. केसीका माग पूरा भएकाले अनशन तोडेर कोभिड– १९ को लडाइँमा लाग्न आग्रह गरे ।
उनले १९औँ अनशनमा बसेका डा. केसीले उठाएका सबै माग सम्बोधन भएको र केही प्रक्रियामा रहेकाले अहिले अनशन प्रमुख आवश्यकता नभएको बताए । ‘त्रिवि शिक्षण अस्पतालमा १८ दिनदेखि भोक–हडतालमा रहेका केसीका धेरै माग यसअघि नै पूरा भएर कार्यान्वयनमा गएको छ । चिकित्सा शिक्षासम्बन्धी ऐन बनायौँ, त्यसकै जगमा टेकेर आयोगले आफ्नो नियमित काम सुरु गरिसकेको छ । यसको नियमावली बनेको छ । गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्तिको विषय कार्यान्वयनमा आएको छ,’ मन्त्री ज्ञवालीले भने ।
कोभिड– १९ को असामान्य अवस्थामा अनशन, धर्ना, हडताल सुहाउने विषय नभएको मन्त्री ज्ञवालीले बताए । ‘चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य वेला अनशन, सत्याग्रह, धर्ना, हडताल सुहाउँदो विषय होइन,’ मन्त्री ज्ञवालीले भने, ‘केही विषय बाँकी छन् भने पछि छलफल गर्न सकिन्छ । सरकारका तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरूलाई आग्रह छ– अनशन फिर्ता लिएर हामी सबै कोभिडविरुद्धको लडाइँमा जोडियौँ । जनतालाई महामारीबाट जोगाऔँ, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौँ ।’
सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने केसीको माग पनि सम्बोधन हुने क्रममा रहेको मन्त्री ज्ञवालीले बताए । पूर्वाधार पूरा भएपछि यी सबै मेडिकल कलेज सञ्चालनमा आउने मन्त्री ज्ञवालीले बताए । ‘यी विषयका लागि केसीले अहिले दबाब दिन जरुरी छैन,’ उनले भने । पिसिआर परीक्षणको विषय भने सरकारले आफ्नो स्रोत–साधनले भ्याएसम्म काम गरिरहेको छ । ‘पिसिआर परीक्षण १० लाखभन्दा बढीको गरिएको छ, यो निरन्तर अगाडि बढ्छ,’ मन्त्री ज्ञवालीले भने ।
केसीको आन्दोलनमा विभिन्न संघसंस्था र नागरिक समाजको समर्थन बढ्दै गए पनि सरकारले भने माग सम्बोधन गर्न कुनै पहल नगरेको केसीका सहयोगीको आरोप छ । डा. केसीले ६ सूत्रीय माग अघि सार्दै २९ भदौमा जुम्लाबाट सत्याग्रह थालेका थिए । राज्य हिंसामा उत्रन सक्ने ‘भय’ले उनी एक हप्तापछि काठमाडौं आएर त्यसलाई निरन्तरता दिइरहेका छन् ।