जिल्ला कारागार सिराहामा रहेका कोरोना संक्रमित कैदीबन्दीलाई पौष्टिक आहार वितरण गरिएको छ ।
सिराहा नगरपालिकाले कारागारको आइसोलेसनमा रहेका कोराेना संक्रमितलाई पौष्टिक आहार पुग्ने सामग्री वितरण गरेको हो ।
कारागारमा रहेका कैदीबन्दीलाई एक सय ५२ किलो स्याउ र ६ सय थान आधा किलोको हर्लिक्स उपलब्ध गराएको सिराहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए ।
सिराहा कारागारमा दुई आश्रितसहित पाँच सय ८७ जना कैदीबन्दीमध्ये २७ भदौमा कोरोना परीक्षणमा चार सय ८५ जना संक्रमित रहेका छन् ।
संक्रमितहरूलाई पौष्टिक अभाव कमी महसुस भइरहँदा सिराहा नगरपालिकाले पौष्टिक आहारको व्यवस्थापन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
कारागारमा रहेका कोरोना संक्रमितको स्वास्थ्य निगरानी राख्न एकजना चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्सको व्यवस्था पनि गरिएको उनले बताए ।
एक सय ५० जना कैदीबन्दी राख्ने क्षमता रहेको सिराहा कारागारमा चार गुणा बढी कैदीबन्दी राखिएको छ । यता कारागारसँगै रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई आइसोलेसन बनाउने काम भइरहेको छ ।