बलात्कारका घटना मिलापत्र गराउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई पक्राउ गरी मतियारको रुपमा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  

बलत्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएकाले उनीहरुलाई पनि कारबाही गर्न निर्देशन दिएको जानकारी गराएका हुन् ।   

यस्तो मिलापत्र गराउनेहरुलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै थापाले आवश्यक परे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताए ।

बलत्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भीर रहेको उनको भनाई छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलत्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिएकाे जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारबाही अघि बढाइएको उल्लेख गरे । 

ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलत्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारबाही, पीडीतलाई उपचार, सुरक्षा र क्षतिपुर्तिको व्यवस्था गर्न माग गरिन ।
 

सुझावित समाचार