दसैँमा नयाँ गाडी

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणको जोखिमले फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालबाट नयाँ गाडीको भर्चुअल लन्च, २४ लाखदेखि दुई करोड ६० लाख रुपैयाँ पर्ने गाडी नेपाली बजारमा

लकडाउन र निषेधाज्ञाले सुस्ताएको अटो बजारमा बडादसैँ नजिकिएसँगै चहलपहल देखिन थालेको छ । कोरोनाको कहरबीच गाडी विक्रेता कम्पनीहरू नयाँ सवारीसाधन सार्वजनिक गर्ने प्रतिस्पर्धामा उत्रिएका छन्, त्यो पनि आकर्षक स्किमसहित । कोरोना संक्रमणको जोखिमले गाडी सार्वजनिक गर्ने प्लेटफर्म भने परिवर्तन भएको छ । विगतका वर्षहरूमा चाडपर्वलक्षित गाडी नाटा अटो सोमार्फत सार्वजनिक गरिन्थ्यो । कतिपय कम्पनीले पाँचतारे होटेलमा भव्य तामझामसहित नयाँ गाडी सार्वजनिक गर्थे । यस वर्ष भने कम्पनीहरूले फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालबाट गाडी भर्चुअल लन्च गरिरहेका छन् । कतिपय कम्पनीले नयाँ गाडी ल्याइसकेका छन् भने कतिपयले ल्याउने तयारी गरिरहेका छन् । 

टाटा अल्ट्रोज

टाटा मोटर्सको नेपाली विक्रेता सिप्रदी ट्रेडिङले नेपालमा चर्चित प्रिमियम ह्याचब्याक कार अल्ट्रोज भित्र्याएको छ । डिजिटल प्रविधिमार्फत सार्वजनिक गरिएको गाडीको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । गाडीमा रहेको १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पिएस पावर र ११३ एनएम टर्क प्रदान गर्छ । गाडीमा मल्टी ड्राइभ मोड, आइडल स्टप–स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, हिडन डोर्स ह्यान्डललगायत दर्जनौँ विशेषता रहेको कम्पनीले जनाएको छ । यात्रुको सुरक्षाका लागि गाडीमा एबिएस, इबिडी, सिएससी र ड्युल एयरब्याग राखिएको छ ।

हुन्डाई न्यु क्रेटा दी अल्टिमेट एसयुभी र हुन्डाई ग्रान्ड आई १० नियोस

नेपाली बजारमा लोकप्रिय बनेको हुन्डाई क्रेटाको नयाँ जेनेरेसन ‘न्यु क्रेटा दी अल्टिमेट एसयुभी’ सार्वजनिक गरिएको छ । हुन्डाई गाडीको नेपाली विक्रेता लक्ष्मी हुन्डाईले फेसबुक, युट्युब, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्मबाट यो गाडी सार्वजनिक गरेको हो । डिजेल र पेट्रोल दुवै इन्जिनमा उपलब्ध नयाँ क्रेटामा १.५ लिटर क्षमताको इन्जिन जडान गरिएको छ । डिजेल र पेट्रोल इन्जिनमा ६ वटा भेरियन्टमा उपलब्ध नयाँ क्रेटाको मूल्य ४३ लाख ९६ हजार रुपैयाँदेखि ६५ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । आकर्षक विशेषताले सुसज्जित नयाँ क्रेटामा सुरक्षाका लागि स्ट्रङ बडी स्ट्रक्चरसँगै फ्रन्ट डुअल एयरब्याग, ड्राइभर रेयर भ्यू मोनिटर, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेहिकल स्ट्याबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, रेयर पार्किङ सेन्सर र क्यामेरा जडान गरिएको छ ।

                                                                                  .....

लक्ष्मी हुन्डाईले ग्रान्ड आई १० नियोसका दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले म्याग्ना र स्पोर्टज भेरियन्ट दसैँअघि नेपाल भित्र्याएको हो । यो गाडीमा १.२ लिटर कप्पा इन्जिन राखिएको छ । कम्पनीले गाडीको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुकमा उतारेको छ । यो गाडीलाई नयाँ हेडल्याम्प र क्यासकेडिङ ग्रिलले थप आकर्षक बनाएको छ । गाडीमा सुरक्षालाई मध्यनजर गर्दै एबिएस, इबिडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेराजस्ता फिचर जडान गरिएको छ । म्याग्ना अटोमेटिक गियरमा पनि उपलब्ध छ । कम्पनीले ग्रान्ड आई १० नियोसको मूल्य ३० लाख ९६ हजारदेखि ३३ लाख ९६ हजार रुपैयाँसम्म तोकेको छ । 

डिएसएफके ग्लोरी ५६०

दसैँको पूर्वसन्ध्यामा नेपाली बजारमा डिएसएफके ब्रान्डको ग्लोरी ५६० एसयुभी गाडी नेपाल भित्रिएको छ । एक वर्षअघि ग्लोरी ५८० मोडलसहित डिएसएफके ब्रान्ड नेपाली अटो बजारमा प्रवेश गरेको थियो । डिएसएफके ब्रान्डको नेपाली विक्रेता कुजु नेपालले भित्र्याएको ग्लोरी ५६० मा युरो ५ मापदण्डको इन्जिन छ । १.५ लिटर टर्बो पेट्रोल इन्जिन भएको यो गाडीमा ६ स्पिड म्यानुअल ट्रान्समिसन छ ।

गाडीमा ५० लिटरको इन्धन ट्यांकी छ । १७ इन्चको अलोय ह्विल, एयरब्याग, एबिएस, इबिडी, इन्जिन इमोबिलाइजर, आलर्म सिस्टम, स्पिड सेन्सिङ अटोलक, चारवटै चक्कामा डिस्क ब्रेक, सफ्ट टच ड्यासबोर्ड, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले, कि लेस इन्ट्री, रिभाइज क्यामेरालगायत फिचर छन् । यो गाडीको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

जिप र्‍याङलर र जिप ग्रान्ड चेरोकी

आइकनिक अमेरिकन अटो ब्रान्ड जिपको र्‍याङलर र ग्रान्ड चेरोकी पनि दसैँअघि सार्वजनिक गर्ने तयारी छ । नेपालका लागि जिपको आधिकारिक वितरक लाइफ अटोमोबाइलले र्‍याङलर (टु डोर) र र्‍याङलर अनलिमिटेड (फोर डोर) दुवै मोडल सार्वजनिक गर्न लागेको हो । अहिले कम्पनीले र्‍याङलरको रुबिकन र सहारा ट्रिम सार्वजनिक गर्न लागेको जनाएको छ । 

र्‍याङलर अनलिमिटेडमा २.० लिटरको टर्बो ८ स्पिड अटोम्याटिक इन्जिन रहनेछ, जसले अधिकतम २०१ किलोवाट पावर र ४०० एनएम टर्क उत्पन्न गर्छ । ८१ लिटर फ्युल ट्यांक क्षमता भएको यो गाडी अफरोडमा सुरक्षाका सप्लिमेन्टरी फ्रन्ट सिट साइड एअर ब्याग, थ्री रियर सिट हेड रिस्ट्रेन, टायर प्रेसर मनिटरिङ डिस्प्ले, चाइल सिट अपर टेथर एङ्करेजलगायत फिचर छन् ।

यो गाडीमा डिआरएल, फ्रन्ट फग एलइडी ल्याम्प, एइडी रिफ्लेक्टर हेडल्याम्प, अटोम्याटिक हेडल्याम्प लेभलिङ सिस्टम, एडाप्टिभ रियर ब्रेक लाइटजस्ता लाइटिङ सिस्टम जडान गरिएको छ । यस्तै, प्रिमियम ब्ल्याक सनराइडर सफ्ट टप, फ्रिडम प्यानल स्टोरेज ब्याग, रियर विन्डो डिफ्रस्टर, हार्ड टपलगायत फिचरले गाडी सुसज्जित छ । कम्पनीले रुबिकनको मूल्य दुई करोड ५७ लाख ९० हजार र सहारा ट्रिमको मूल्य दुई करोड ३९ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

                                                                                         ......

लक्जरी एसयुभी सेग्मेन्टमा राखिने जिपको ग्रान्ड चेरोकी मिड–साइज एसयुभी गाडी हो, जुन सधैँ ‘युनिबडी च्यासिस’मा बनाइएको हुन्छ । सामान्यतः एसयुभी निर्माताहरूले आफ्ना एसयुभीलाई बडी–अन–फ्रेममा निर्माण गरेका हुन्छन् । यसमा ३.० भी–६ ८ स्पिड अटोम्याटिक इन्जिन रहनेछ, जसले १७२ किलोवाट पावर र २८५ एनएम टर्क उत्पन्न गर्छ । यो गाडीमा रेन सेन्सिङ वाइपर, हेडल्याम्प वासर, रियर विन्डो वाइपर, रिमोट की लेस इन्ट्री, इन्टिग्रेटेड भ्वाइस कमान्डजस्ता विशेषता हुनेछन् । कम्पनीले यो गाडीको मूल्य दुई करोड ५९ लाख ९० हजार रुपैयाँ तोकेका छ ।

स्कोडा र्‍यापिड टिएसआई अटोमेटिक

स्कोडाको आधिकारिक विक्रेता एमएडब्लुले एक महिनाअगाडि र्‍यापिड टिएसआई गाडी सार्वजनिक गरिसकेको छ । कम्पनी दसैँअघि नै र्‍यापिड टिएसआईको अटोमेटिक भेरियन्ट पनि सार्वजनिक गर्ने तयारीमा छ । नयाँ र्‍यापिड टिएसआई अटोमेटिकमा बिएस–६ कम्प्लाइन्ट ३ सिलिन्डर १.० लिटरको टिएसआई ६ स्पिड अटोमेटिक पेट्रोल इन्जिन रहनेछ, जसले अधिकतम ८१ किलोवाट पावर र १७५ एनएम टर्क उत्पन्न गर्नेछ ।

यो सेडान गाडीले १६.२४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यो गाडी पाँच भेरियन्ट र ६ कलरमा उपलब्ध हुनेछ । यसमा एलइडी डिआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट र रियर फगल्याम्प, रियर डिफ्युजर, बडी कलर्ड स्वाइलर, इन्फ्रारेड कट भएको फ्रन्ट र रियर डार्क ग्रिनग्लास, ८ इन्च स्कोडा टचस्क्रिन इन्फोटेन्मेन्ट, रियर भ्यू क्यामेरा र चारवटा एयरब्याग हुनेछन् । 

किया सोनेट 

कियाको नेपाली विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले दसैँ र तिहारको बीचमा सोनेट गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सोनेटका चारवटा भेरियन्ट नेपालमा ल्याउन लागेको बताएको छ । नेपाल भित्रिन लागेका सोनेटको मूल्य न्यूनतम ३५ लाख ९० हजारदेखि अधिकतम ५७ लाख ९० हजार रुपैयाँसम्म पर्नेछ । कम्पनीले सोनेटको बुकिङ सुरु गरिसकेको छ । कम्पनीका अनुसार एउटा भेरियन्ट पेट्रोल र तीनवटा भेरियन्ट डिजेल इन्जिनमा उपलब्ध हुनेछन् । पेट्रोल गाडी १.२ लिटर इन्जिन क्षमताको हो भने डिजेल गाडी १.५ लिटर इन्जिन क्षमताका हुन् । दर्जनौँ आधुनिक फिचरले सुसज्जित सोनेट कम्प्याक्ट एसयुभी गाडी हो ।

टोयोटा कोरोला क्रस

टोयोटाको विश्व चर्चित मोडल कोरोला नयाँ अवतारमा नेपाल भित्रिँदै छ । क्रसओभर डिजाइनमा तयार गरिएको ‘कोरोला क्रस’ एसयुभी दसैँअगाडि सार्वजनिक गर्ने तयारीमा युनाइटेड सिन्डिकेट प्रालि लागेको छ । सेडान सेगेमन्टको कोरोला नेपालमा लोकप्रिय भइसकेको गाडी हो । कम्पनीले कोरोला क्रसको दुईवटा भेरियन्ट नेपालमा भित्र्याउन लागेको हो, जसको मूल्य एक करोड १२ लाख र एक करोड ३३ लाख रुपैयाँ तोकिएको छ ।

कोरोला क्रसको बुकिङ सुरु भइसकेको छ । यो गाडी र्‍याभफोरभन्दा सानो र रसभन्दा ठूलो मिडसाइज एसयुभी गाडी हो । टोयोटा क्रस १.८ लिटर फोर सिलिन्डर पेट्रोल र १.८ लिटर पेट्रोल हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ । सार्प हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, ब्ल्याक ग्रिल र बम्परलगायत युनिक फिचरले गाडीलाई स्पोर्टी लुक्स दिएको छ । गाडीको इन्टेरियर पनि विलासी अनुभूति दिलाउने खालका छन् ।

सुझावित समाचार