कोरोना भाइरसको संक्रमण बढिरहेको वेला ताप्लेजुङका राजनीतिक दलहरूबीच गाउँगाउँमा गएर कार्यक्रम गर्ने प्रतिस्पर्धा नै चलेको छ । यतिवेला राजनीतिक दलका नेता र सांसद नै चुनावको झल्को दिने गरी गाउँमा पुगी सभा–सम्मेलन गर्ने र पार्टी प्रवेश गराउने काममा व्यस्त छन् ।
सत्तारुढ दलका प्रदेश सभा सांसद बलबहादुर साम्सोहाङ, टंक आङबुहाङलगायत अन्य नेताहरू कोरोना महामारीको बेवास्ता गर्दै आमसभा गरी आफ्नो पार्टीमा कार्यकर्ता तान्ने खेलमा छन् ।
सत्तारुढ दलका सांसद मात्र होइनन्, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद पनि गाउँ पुगेर कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याइरहेका छन् । कोरोना त्रासका कारण जनतालाई घरभित्रै बस भनेर देशका प्रमुख राजनीतिक दलका अगुवाहरूले यसरी आफैँले बनाएको नियम उल्लंघन गर्नु कति जायज होला ?
जनतालाई कोरोनाबाट बच्न सचेतना जगाउनुपर्ने वेला सभा–सम्मेलन गरेर अगुवाहरूले नै नियमको उल्लंघन गरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका जिल्ला संयोजक धनेन्द्र मादेनले बताए । तत्काल यस्ता गतिविधि नरोकिए जिल्लामा कोरोना संक्रमणले धेरै क्षति हुने उनको भनाइ छ ।
राजनीतिक दलकाा यस्ता गतिविधिप्रति जिल्ला प्रशासन कार्यालय भने मौन छ ।