उपत्यकामा वैकल्पिक कब्रिस्थानको खोजी गर्न समिति गठन

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

मुस्लिम धर्मावलम्बीहरूका कुनै व्यक्तिको कोभिडबाट ज्यान गएमा मृत्यु संस्कार गर्न उपत्यकमा वैकल्पिक कब्रिस्थान (मुस्लिम धर्मावलम्बीको धर्मअनुसार मृत्युपछि शव व्यवस्थापन गरिने ठाउँ) को खोजी गरिने भएको छ । 

कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको स्वयम्भूमा रहेको एक मात्रै कब्रिस्थानमा शव गाड्न स्थानीयले अवरोध गरेपछि वैकल्पिक ठाउँको खोजी गरिने भएको हो । त्यसका लागि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । 

स्थानीय वडा कार्यालय र स्थानीयहरूले कोभिडबाट मृत्यु भएकाहरूलाई स्वयम्भूमा रहेको  कब्रिस्थानमा गाड्न नदिने बताएपछि चार दिनसम्म ती मृतकको अन्तिम संस्कार भएको थिएन । 

सामाजिक सदभाव नबिगार्न उपत्यकामा वैकल्पिक  कब्रिस्थानका लागि ठाउँ खोजिने अध्यक्ष अन्सारीले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधि सम्मिलित बुधबारको छलफलले वैकल्पिक स्थान खोजी गर्न समिति गठन गरेको हो । 

छलफलका क्रममा भट्टेडाँडा, चम्पादेवी, फर्पिङ, शिवपुरी डाँडा र नागार्जुन डाँडाको अध्ययन गर्न सुझाब आएको उनले बताए । बस्तीभन्दा टाढा, स्थानीयलाई अफ्ठ्यारो नपर्ने र गाडी तथा एम्बुलेन्स सहजै जाने ठाउँको अध्ययन गरी कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई सिफारिस गरिने उनले बताए । 

उपत्यकामा वैकल्पिक  कब्रिस्थानका लागि ठाउँ नभेटिए उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आएका, तर निधन भएकाहरूलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था सरकारले गर्नुपर्ने उनले बताए ।

सुझावित समाचार