ट्रान्सफर स्टेसनमा रित्तियो काठमाडौंको फोहोर

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेसनमा फोहोर रित्तिएको छ । ट्रान्सफर स्टेसनमा अहिले फोहोर शून्य भएको छ ।

‘बर्खायाममा यो अवस्था ल्याउनु सजिलो काम होइन, कोभिड महामारीका वेलामा ज्यानको माया नगरी सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको हो,’ महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ।

विगत वर्षमा महानगरले वर्षामा आफ्नो प्रयासले मात्र नहुने भएपछि कहिले गाडी भाडामा लिएर, कसैलाई तेल दिएर फोहोर ढुवानी गराउने गरेको थियोे । तर, यस वर्ष महानगरले फोहोर लैजान सवारी भाडामा प्रयोग गरेको छैन । महामारीका कारण बजारमा फोहोर उत्सर्जनसमेत घटेकाले फोहोर ढुवानीमा विगतमा खर्च हुँदै आएको करिब १२ लाख रुपैयाँ बचत भएको महानगरका विभागका प्रमुख श्रेष्ठले बताए ।

‘सिसडोलमा फोहोर बोकेर जाने ठूला सवारी, जेसिभी, लोडर समयमा नै मर्मत गऱ्याैँ, ल्यान्डफिल साइटमा प्रयोग गर्न खरिद गरिएको डोजर समयमा नै आइपुग्यो,’ फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख इन्जिनियर निर्मलराज बराल भन्छन्, ‘विगत वर्षहरूमा हामी सडक हेर्दैनथ्यौँ । यस वर्ष सडकको अवस्था हामी आफैँले हेऱ्याैँ । सडकमा भत्किने समस्यालाई तत्कालै सुधार गरेपछि थप भत्किन पाएन । यसकारण पनि बर्खामा साइटमा पुग्न सजिलो भयो ।’

महाशाखाका अनुसार अहिले पनि दैनिक औसतमा एक सय २० देखि एक सय ३० वटासम्म ठूला सवारीले साइटमा फोहोर पुर्‍याइरहेका छन् । महानगरले टेकुमा सञ्चालित ट्रान्सफर स्टेसन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ । महानगरले दैनिक सडकबाट उठेको फोहोर स्टेसनमा संकलन गरेर सिसडोल पठाउने गरेको  छ ।

सुझावित समाचार