हुम्ला हिमाली गाउँपालिका– ३ स्थित बौडी गाउँका गोरे थापा हुम्लाको नाम्खा गाउँपालिका– २ रानीखर्कबाट भेडामा जटामासी बोकाएर तीन दिनपछि सदरमुकाम सिमकोट पुगे ।
रानीखर्कबाट जटामासी भेडामा बोकाएर खुट्टाको पैतला खिइएका छन् । लकडाउन अवधिभर दुईपटक भेडामा जडीबुटी ल्याएर हुम्ला पुगेको उनले बताए ।

उनले लकडाउन भएसँगै घर छोडेको तीन महिना भइसक्यो । तीन महिनादेखि उनी रानीखर्कमा जटामासी संकलन गर्नेदेखि जडीबुटी जंगलबाट गाउँसम्म पुऱ्याएर आम्दानी गर्दछन् ।
लकडाउनले विद्यालय बन्द भएपछि गंगा आधारभूत विद्यालय बौडी– ३ बाजुरामा कक्षा सातमा अध्ययनरत छोरी पानमति थापाले उनलाई सघाउँदै दुई ठूलो लेक काटेर तीन दिनपछि हुम्लाको सदरमुकाम सिमकोट पुगेका हुन् ।

गाउँ नछोडे घरपरिवार खर्चको जोहो गर्ने मुस्किल हुने भएपछि आफू जडीबुटी संकलन र जडीबुटी भेडामा बोकाएर आम्दानी गरेको गोरे थापाले नयाँ पत्रिकासँग भने ।
छोरीको विद्यालय बन्द भएको र सबै बालबालिका रानीखर्कमा जडीबुटी खोज्न व्यस्त भएको उनले बताए । घरखर्च चलाउन खेतीपातीले मात्र धान्न नसक्ने भएपछि उनीसँगै उनका गाउँका अन्यले पनि जडीबुटी संकलन गर्ने गर्दछन् ।

गोरे थापाले भने, ‘भोकमरी सहन सकिँदैन, कम समय घर बस्छु, धेरै समय जंगलमा भेडापालन, जडीबुटी सकंलन व्यस्त हुन्छु ।’
भेडामा बोकाएर जडीबुटी ढुवानी गरेको प्रतिक्विन्टलको ११ हजार रुपैयाँ उनले पाउँछन् । त्यही पैसाले घरपरिवारको खर्चको जोहो हुने गरेको थापाले बताए ।
थापा मात्रै नभई हिमाली गाउँपालिका–३ बौडी बाजुराका भीमबहादुर थापा पनि रानीखर्कबाट हिँडेको तीन दिनपछि हुम्लाको सदरमुकाम सिमकोट पुगे ।

यसरी यात्रा गर्दा दुःख हुने उनले बताए । बीचबाटोमा खसी चोरी हुनेदेखि खोलाले समेत बगाउने गरेको उनले बताए ।
भेडाखसीले धेरै सामान बोक्न नसक्ने हुँदा एकपटक चार–पाँच क्विन्टल मात्रै ल्याउन सकिन्छ ।
‘ठूलो परिवार हुनेलाई बिहान–बेलुकाको खर्चको जोहो गर्न मुस्किल हुन्छ,’ थापाले भने, ‘जडीबुटीको ढुवानीबाट प्राप्त आम्दानीबाट घर खर्च चलाउँछौँ ।’

जिल्लाको हिमाली गाउँपालिकालगायतका विभिन्न स्थानहरूबाट जडीबुटी संकलन र ढुवानी गर्नेहरू अहिले अधिकांश हुम्लाको रानीखर्कमा भरिभराउ रहेका छन् ।
कोभिड– १९ को संक्रमण बढ्दै गएर सरकारले लकडाउन गरेपछि विद्यालय बन्द भएपछि बालबालिकाहरू आफ्ना आमाबुबासँग जंगलतर्फ जडीबुटी संकलनका लागि गएका छन् ।