घरमा रहेको कुकुर पनि मरेको अवस्थामा फेला
भक्तपुरमा एकैपरिवारका तीनजना सदस्यको आफ्नै घरमा शव भेटिएको छ । शुक्रबार घरको पहिलो तलामा छोराको, दोस्रोमा आमा र तेस्रोमा बुबाको शव भेटिएको हो ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी र उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्त मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार सुदीपको तेस्रो तलामा, सम्झताको दोस्रो तलामा र सुशान्तको पहिलो तलामा शव भेटिएको छ ।
सम्झना र सुशान्तको खाटमा तथा सुदीपको किचनको छेउमा शव भेटिएको ठिमी वृत्तका डिएसपी ऋषिराम कँडेलले बताए । घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको छ ।
उनीहरूले घरमै किनारा पसल चलाउँदै आएका थिए । सुदीपका भाइ शुक्रबार घरमा कोही नभएको र पुग्दा भित्रबाट गनाएपछि शंका लागेर उनले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा हत्या भएकै देखिएको प्रहरीले जनाएको छ । सम्झना र सुशान्तको धारिलो हतियार प्रयोग गरी हत्या गरिएजस्तो देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । सुदीपको शवमा भने चोटपटक देखिएको छैन ।
प्रहरीले घटनाको मुख्यगरी दुई कोणबाट अघि बढाएको छ । ‘पहिलो भनेको कोही बाहिरी व्यक्ति आएर सबैको हत्या गरेको हुन सक्छ,’ घटनास्थल पुगेका अपराध महाशाखाका एक प्रहरी अधिकृतले भने, ‘दोस्रो भनेको सुदीपले दुईजनाको हत्या गरेर आत्महत्या गरेको हो कि जस्तो पनि देखिन्छ, विस्तृत अनुसन्धान नगरी केही भन्न सकिन्न ।’
तीनैजनाको शव फरेन्सिक विज्ञसहितको टोलीले उठाएर पोस्मार्टमका लागि काठमाडौं मेडिकल कलेज पुर्याएको छ । पोस्टमार्टम रिपोर्टले उनीहरूको मृत्युको कारण खुल्ने प्रहरी अधिकारीले बताए ।
उनीहरूको मृत्यु करिब एक साताअघि नै भएजस्तो देखिएको प्रहरीले जनाएको छ । अधिकारी परिवार गत वर्ष मात्र त्यहाँ नयाँ घर बनाएर सरेकोसमेत उनका आफन्तले बताएका छन् । त्यसअघि उनीहरू मध्यपुरठिमी–६ मा बस्थे ।