कोटेश्वर–कलंकी सडकमा अझै बनेन ‘सर्भिस ट्र्याक’

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यसबाहिर दुवैतर्फ एक–एक लेनको सर्भिस ट्र्याक निर्माण गर्ने सहमति भएको थियो । 

सडक विभागले तीन वर्ष पहिले नै निर्माण सुरु गरे पनि अझै सम्पन्न भइसकेको छैन । निर्माण हुन बाँकी खण्डमा कतै भौगोलिक कठिनाइ त कतै त्यहाँ रहेका भौतिक संरचना हटाउन नसकिदा ‘सर्भिस ट्र्याक’ निर्माण गर्न नसकिएको हो । भौगोलिक कठिनाइ भएका स्थानमा काठमाडौं चक्रपथ योजनाले सडकको साटो भऱ्याङ बनाउने योजना गरेको छ । कतिपय स्थानमा भने समस्या हटाएर सडक नै बनाउने तयारी भएको छ । 

बालकुमारी पुलबाट कोटेश्वरतर्फ दुवैतर्फ ट्र्याक निर्माण हुन नसकेको योजना प्रमुख अमृतमणि रिमालले बताए ।  चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरी दुवैतर्फ भूगोल अग्लो होचो रहेको छ । थोरै क्षेत्रमा जमिनको तह निकै फरक रहेकाले सडक बन्न नसकेको हो । सडकको दायाँतर्फ सडकको साटो भऱ्याङ हालिने तयारी भइरहेको छ । बायाँतर्फ सडकको अधिकार क्षेत्रमा दुई घरका कारण सर्भिस ट्र्याक बन्न सकेको छैन । 

चक्रपथको अधिकार क्षेत्रबीच भागबाट दुवैतर्फ २५–२५ मिटर र अर्को ६–६ मिटर ‘सिड बेल्ट’ हुन्छ । ‘सिड बेल्ट’समेत ३१ मिटर चौडाइ भए पनि त्यही क्षेत्रमा घरहरू रहेका छन् । स्थानीयवासीले सहयोग गर्दा मात्रै सो स्थानमा सडक बन्न सक्ने उहाँको भनाइ छ । उनले भने, ‘ती घर नभत्काउँदासम्म सर्भिस ट्र्याक बनाउन सकिँदैन ।’

एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा रहेकाले त्यस स्थानमा पनि सडक बन्न सकेको छैन ।  तत्काल त्यसलाई नहटाए सडक बनाउन नसकिने प्रमुख रिमालले बताए ।  यातायात व्यवस्था कार्यालयदेखि एकान्तकुना चोकसम्म पनि भूगोलका कारण सडक निर्माण कठिन रहेको छ । सो स्थानमा डिजाइनमा नै त्रुटि रहेकाले सडक निर्माण गर्न नसकिएको उनले बताए । 

डिजाइनमा ‘सर्भिस ट्र्याक’ मुख्य र सहायक सडकभन्दा कम उचाइमा बनाउने योजना रहेको थियो । सो स्थानमा पहिरोको समस्या भएको उनले बताए । अहिले यो सडक अरू लेनजस्तै उचालेर बनाउने गरी तयारी भइरहेको छ । 

खसीबजारमा पनि ‘सर्भिस ट्र्याक’ निर्माण अघि बढ्न सकिरहेको छैन । ‘अन्डर पास’ रहेको सो स्थानमा भौगोलिक कठिनाइकै कारण सडक निर्माण हुन नसकेको हो । बाँकी रहेका अरू स्थानमा निर्माण गर्ने योजना भए पनि तत्काल खसीबजारमा निर्माण अघि बढ्ने देखिँदैन । 

०७५ माघमा चीन सरकारले सो सडक गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । दस दशमलव चार किलाेमिटर लम्बाइ सडक निर्माणको काम चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले गरेको हो । सोही वर्षदेखि नै सरकारले दुवैतर्फ एक–एक लेनको सर्भिस ट्र्याक र छ आकासेपुल निर्माण सुरु गरेको थियो ।

नेपालमा पहिलोपटक आठ लेन सडक र पहिलो ‘अन्डर पास’लाई यो सडकको विशेषता मानिएको छ । खसी बजारचोकदेखि कलंकी चोकसम्म रहेको ‘अन्डपास’को मुख्य लेनमाथि सडकमा र सहायक लेन जमिनमुनि छ । निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ र अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै थिए । 

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन हुने गरी डिजाइन भएको थियो । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि ‘सर्भिस ट्र्याक’समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छ । चक्रपथ छिर्न चालकले पहिले सर्भिस ट्र्याक पुग्नुपर्छ । सर्भिस ट्र्याकबाट नै चालकले सहायक हुँदै मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सडकमा निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । 

दश दशमलव ४ किलोमिटरको यस सडकमध्ये सात दशमलव ६ किलाेमिटर काठमाडौं र दुई दशमलव आठ किलाेमिटर सडक ललितपुरमा पर्छ । चक्रपथको दोस्रो खण्डका रूपमा चीन सरकारले नै कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार गर्दै छ । दोस्रो खण्डमा पनि पहिलो खण्डजस्तै आठ लेन हुनेछ भने पैदलयात्रुका लागि एक–एक किलाेमिटरको फरकमा आकासेपुल निर्माण हुने भएको छ । रासस

सुझावित समाचार