पोखरामा पनि प्लाज्मा थेरोपीबाट कोरोनाको उपचार सुरु गरिँदै

कोरोनामुक्त भएको दुई साता ननाघेकालाई रक्तदान गर्न आह्वान

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

पोखरामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार प्रक्रिया अगाडि बढाइने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीबाट संक्रमितको उपचार प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कोरोना संक्रमण निको भएका र दुई साता ननाघेकालाई रक्तदान गर्न प्रतिष्ठानले आह्वान गरेको छ । 

रगत प्राप्त हुनासाथ प्लाज्मा थेरापी विधिबाट उपचार थाल्ने प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ‘अब हामीले पनि प्लाज्मा थेरापीबाट उपचार थालनी गर्दै छौँ । यसका लागि सबै प्रक्रिया पूरा भएका छन् । मात्र अब रगतको प्रतीक्षामा छौँ । कोरोना संक्रमित भई निको भएको दुई साता ननाघेकाले रक्तदान गर्न सक्नुहुन्छ,’ उनले भने । 
रक्तदान गर्न चाहनेलाई क्षेत्रीय रक्त सञ्चार सेवामा आएर दिने प्रबन्ध मिलाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. बुद्धिसागर लामिछानेले जानकारी दिए । 

रेम्डेसिभर औषधि पनि चलाउने तयारी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा संक्रमणका कारण गम्भीर बिरामी परेकालाई रेम्डेसिभर औषधि दिने तयारी भएको छ । 

औषधि ल्याउने प्रक्रिया पूरा भएको र छिट्टै औषधि आउने प्रतिष्ठानका निर्देशक डा. आचार्यले जानकारी दिए । सो औषधि आउनासाथ चलाउने तयारी भएको उनले बताए । ‘हामी अब कोरोना संक्रमणबाट गम्भीर बिरामीलाई रेम्डेसिभर औषधि दिने तयारीमा छौँ । आजै वा भोलिसम्ममा औषधि आइपुग्ने जानकारी प्राप्त भएको छ । आउनासाथ त्यो औषधि पनि सुरु गर्ने तयारीमा छौँ,’ उनले भने ।

सुझावित समाचार