गगन थापाले भने– काेराेना महामारी नियन्त्रणमा सरकारकाे उपस्थित देखिएन

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमप्रति गम्भीर असहमती जनाएका छन् । 

उनले कोरोना महामारी नियन्त्रणका सन्दर्भमा सरकारको उपस्थिति निषेधाज्ञा घोषणा गर्ने प्रमुख जिल्ला अधिकारीको रूपमा र अपराह्न ४ बजे कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रूपमा मात्रै देखिने गरेको बताएका हुन् ।

बुधबार सामाजिक सञ्जालमा उनले पोष्ट गरेका छन, ‘आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति केवल दुई स्थानमा भेटिन्छ । पहिलो निषेधाज्ञा घोषणा गर्ने प्रजिअको रूपमा र दोस्रो साँझ ४ बजे कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रूपमा । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा छ । संसद् बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन ।’

उनले थप लेखेका छन्, ‘आमनागरिक र जनप्रतिनिधिको कुरा सरकारसम्म पुऱ्याउने सब माध्यम बन्द छन् अनि प्रजिअको घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नुपर्ने ?’

कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउन पनि उनको आग्रह छ ।

‘आफ्ना कर्मचारीको अनुहार देखाएर काम चल्छ भन्ने लागेको हो र सिडियोको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मुखबाट कोरोना अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने प्रधानमन्त्रीज्यू, आमनेपालीको धैर्यताको बाँध कुनै पनि वेला फुट्न सक्छ । कृपया नागरिकको धैर्यताको जाँच नगर्नुहोस् । कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस् ।’

सांसद थापाले थप लेखेका छन्, ‘यस्तै चलिरहने हो भने नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन् । कोरोनाको अहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्नेछ । देशलाई जानीजानी त्यस्तो संकटतर्फ नधकेलौँ । सरकारको अकर्मण्यता र गैरजिम्मेवारी प्रवृत्तिबाट कुनै संकट उत्पन्न नहोस् भन्ने चाहना सबैको हो । सरकार र राजनीतिक नेतृत्वमा जिम्मेवारीबोध र इमानदारिता हुने हो भने अझै बिग्रेको छैन ।’

सुझावित समाचार