हजार रुपैयाँ सापटी नदिँदा वृद्ध दाजुबहिनीको हत्या

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

एक हजार रुपैयाँ सापटी माग्दा नदिएपछि जन्तेढुंगा गाउँपालिका– ४ डम्बर्खु शिवालयका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको हत्या भएको खुलेको छ । उनीहरूको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गाप्रसाद राईले हजार रुपैयाँ सापट माग्दा पनि नदिएपछि हत्या गरेको प्रहरीमा बयान दिएका छन् । उनीहरूको हत्या १७ भदौमा भएको थियो । 

हत्या आरोपमा पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार सार्वजनिक गरेको छ । श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खबर गरेको खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमाेरियाले बताए । स्थानीयले खबर गरेपछि अभियुक्त राईलाई प्रहरीले २० भदौमा पक्राउ गरेको थियो । घटनालगत्तै भागेर सोही गाउँपालिकाको वडा नम्बर २ बोपुङ पुगेका राईलाई २१ भदौमा जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएलगत्तै कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए । 

राईले एक हजार रुपैयाँ सापटी माग्दा नदिएको झोकमा श्रेष्ठ दाजुबहिनीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकार गरेको प्रनाउ चिमाेरियाले बताए । ‘अभियुक्त राई दिनभर मृतक श्रेष्ठ दाजुबहिनीको घरमा खेतीपातीको काम सघाउन गएका रहेछन्,’ उनले भने, ‘बनिबुतो गरेर जीवन निर्वाह गर्दै आएका राईले श्रेष्ठ दाजुबहिनीसँग पैसा सापटी मागेको रहेछ । काम सकाएर घर गएका राई दुईपटकसम्म श्रेष्ठ दाजुबहिनीको घरमा पैसा माग्न गएको बुझिएको छ । पटकपटक उनीहरूको घर गएर माग्दा पनि नदिएपछि घर फर्किएर मादक पदार्थ सेवन गरी राति १२ बजे उनीहरूको घरैमा गएर हत्या गरेको बताएका छन् ।’ घरैबाट खुकुरी बोकेर गएका राईले इन्द्रबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनी गोपीमायालाई पनि खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । अभियुक्त राईको साथबाट एक हजार एक सय ७० रुपैयाँ साथै मृतक गोपीमायाको थैली र हत्या गर्न प्रयोग गरिएको खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।  

मृतक दाजुबहिनीको घर एकान्तमा भएकाले घटनाबारे तीन दिनपछि मात्र जानकारी पाइएको गाउँपालिका प्रमुख शंकरबहादुर राईले बताए । ‘अविवाहित दाजु इन्द्रबहादुर शारीरिक रूपमा अपांगसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीमै बसेकी रहिछिन्,’ उनले भने ।

सुझावित समाचार