अल्पकालीन फोहाेर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहाेर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रूपमा फोहाेर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टुमा पनि अहिले फोहाेर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको समस्या फेरि बल्झिएको हो ।
कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल व्यवस्थापन गरिरहेकै स्थान वरपर केही समयका लागि स्थानको खोजी भइरहेको छ, तर यस विषयमा स्थानीयवासीले भने असहमति जनाएका छन् । गत असारमा नै सक्ने गरी दीर्घकालीन रूपमा बञ्चरेडाँडामा ल्यान्डफिल साइड निर्माण भइरहेको भए पनि पूर्ण रूपमा काम नहुँदा कमपालाई पुनः समस्या दोहोरिएको हो ।
कामपासँग अब पहिले नै फोहाेर थुपारिएको स्थानमा माटोले पुरी तत्कालका लागि फोहाेर व्यवस्थापन गर्ने वा स्थानीयवासीलाई सहमति गराई अन्य स्थानको खोजी गर्ने विकल्प मात्र रहेको उनको भनाइ छ । ‘वर्षातको समयमा झन् धेरै फोहाेर उत्पादन हुन्छ, उत्पादन बढी हुने हुँदा पनि व्यवस्थापन गर्न असहज भएको छ,’ श्रेष्ठले भने ।
मन्त्रिपरिषद्को बैठकले नै उपत्यकाको फोहाेरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करिब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्यान्डफिल निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिएको थियो ।
हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौाे महानगरपालिकाबाट मात्र दैनिक पाँच सय मेट्रिक टन फोहाेर निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
सिसडोलमा ०६२ सालमा दुई वर्षको फोहाेर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल निर्माण गरिएकाेमा चारपटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहाेर व्यवस्थापन गरिँदै आएको छ । गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि समस्या समाधान हुन सकेको छैन । दीर्घकालीन केन्द्र सरकारले निर्माण गरे पनि अल्पकालीन फोहाेर व्यवस्थापनकाे जिम्मा भने कामपाको हो ।