नानो स्याटलाइटमार्फत अन्तरिक्षमा उपस्थिति जनाएकै वर्ष नेपालले ‘ग्लोबल इनोभेटिभ इन्डेक्स (जिआइआई)’मा सुधार ल्याएको छ । हालै सार्वजनिक जिआइआई–२०२० को रिपोर्टअनुसार नेपाल ९५औँ स्थानमा परेको छ । विश्वका एक सय ३१ देशमध्ये नेपालले अघिल्लो वर्षको भन्दा १४ स्थान माथि उक्लिएर ९५औँ स्थानमा परेको हो ।
यस्तै, न्यून आय भएका १६ वटा देशमध्ये नेपाल तेस्राे स्थानमा परेको छ । मध्य तथा दक्षिण एसियाली उत्कृष्ट १० राष्ट्रमध्ये नेपाल छैटौँ स्थानमा परेको छ । जिआइआईका अनुसार नेपालले विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रमा पछिल्लो दशकमै उल्लेख्य सुधार गरेको हो ।
नेपाल यसअघि सन् २०१९ मा १०९, सन् २०१८ मा १०८, सन् २०१७ मा १०९, सन् २०१६ मा ११५ र सन् २०१४ मा १३६औँ स्थानमा रहेको थियो । नेपालले पछिल्लो वर्ष खोज, अनुसन्धान र आविष्कारमा विगतको भन्दा लगानी बढाएको र प्रतिफलमा पनि क्रमशः सुधार गरेको सूचकांकले प्रस्ट्याउँछ ।
जिआइआईको नतिजाले विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा कार्यरत सबैलाई उत्साहित तुल्याएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले बताए । ‘जिआइआईले आविष्कार र नवीनतम विकासको क्षमताका आधारमा अर्थतन्त्रको तह निर्धारण गर्ने गर्दछ, जसमा ८० वटाभन्दा धेरै सूचकलाई आधार मानिन्छ,’ उनले भने, ‘यो नतिजा सिंगो नेपालकै लागि उपलब्धिको विषय हो, यसमा नाष्ट एउटा पक्ष मात्रै हो ।’
नाष्टमा उपकुलपति नियुक्त भएलगत्तै विश्व सूचकांकमा नेपालको आविष्कारको स्थान दुईपदीय बनाउने लक्ष्यसहित कार्यभार सम्हालेका श्रेष्ठ भन्छन्, ‘अब यसलाई कायम राख्ने र स्तरवृद्धि गर्ने चुनौती थपिएको छ, त्यसका लागि सरकार र निजी क्षेत्र दुवैले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउनुपर्छ ।’
उनले आगामी दुई वर्षभित्र नेपाललाई ८०औँ स्थानमा पुऱ्याउने लक्ष्य लिएको बताए । नाष्टले विज्ञानलाई समाज र नवप्रवर्तनलाई समृद्धिसँग जोडेर काम गर्ने प्रयत्न गरिरहेको उनी बताउँछन् । ‘ल्याबमा गरेको कामको उपलब्धिले समाजलाई फाइदा पुग्नुपर्छ, त्यसका लागि अध्ययन, अनुसन्धान र खोजमा लगानी पनि बढाउनुपर्ने हुन्छ,’ उनले भने ।
यही वर्ष नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले नेपालका लागि सानो आकारको भूउपग्रह बनाएका थिए । जसलाई २ असारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)बाट पृथ्वीको कक्षमा छाडिएको थियो । जापानी क्युटेक युनिभर्सिटीको बर्डस्–थ्री परियोजनाअन्तर्गत सो स्याटलाइट बनाइएको थियो । सोही परियोजनाअन्तर्गत अहिले अर्का नेपाली विद्यार्थीले पनि स्याटलाइट बनाइरहेका छन् ।
नेपाली स्याटलाइट निर्माण भएर अन्तरिक्षमा पुगे पनि त्यसबाट उल्लेख्य लाभ भने नेपाली वैज्ञानिकले लिन सकेका छैनन् । नाष्टका उपकुलपति श्रेष्ठ भन्छन्, ‘नेपाली वैज्ञानिकले नै बनाएको नेपाली स्याटलाइट अन्तरिक्षमा पुग्नु नै उपलब्धि हो । सन् २०१९ मा नेपालले पहिलोपटक अन्तरिक्षमा प्रवेश गरेको वर्ष इतिहास बनेको छ, अब कम्तीमा हामीले पनि बनाउन सकिने रहेछ भन्ने प्रेरणा अन्य नेपाली वैज्ञानिकलाई मिलेको छ ।’
उनले अहिले नेपालमा ठूलो उपलब्धि आउने गरी आविष्कार भइहाल्ने अवस्था नआएको भन्दै क्रमशः अध्ययन, अनुसन्धान र नवप्रवर्तनका लागि वातावरण मात्रै तयार भइरहेको बताए । नाष्टले आफ्नै जनशक्तिबाट सञ्चालन हुने गरी राष्ट्रिय आविष्कार केन्द्र बनाउन लागेको र नयाँ जोस, जाँगर भएका वैज्ञानिकहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
कोभिड– १९ लाई लक्षित गरेर नाष्टले मोबाइल स्वाब क्लेक्सन भेहिकल बनाएको छ । यस्तै, नास्टले ज्वरो परीक्षण गर्ने थर्मोग्राफिक क्यामेरा, न्यून लागतमै परीक्षण गर्न सकिने पिसिआर प्रविधि, खाद्य सुरक्षाका लागि सोलार प्रविधिमा आधारित ड्रायर सिस्टम, अस्पताल र क्वारेन्टिन डिसइन्फेक्सनका लागि माइक्रोबायोलोजिकल रोबोट र कोभिड– १९ पत्ता लगाउने एक्स–रे प्रविधिलगायत प्रवधि विकासका लागि समेत अनुसन्धान भइरहेको जनाएको छ ।
न्यून आय भएका देशमध्ये तेस्राे
न्यून आय भएका देशहरूमध्ये आविष्कारमा नेपालमा तेस्राे स्थानमा परेको छ । न्यून आय भएका उत्कृष्ट १० राष्ट्रमध्ये नेपालले तेस्राे स्थान लिएको यो पहिलोपटक हो । पहिलो र दोस्राे स्थानमा तान्जानिया र रुवाण्डा छन् । नेपालको छिमेकी राष्ट्र चीन १३औँ स्थानमा परेको छ भने दक्षिण एसियाली राष्ट्रहरूमध्ये भारत ४८, बंगलादेश ११६, श्रीलंका १०१ र पाकिस्तान १०७औँ स्थानमा परेको छ ।
यो वर्ष आविष्कारमा विश्वका उत्कृष्ट दश मुलुकभित्र स्विटरजरल्यान्ड, स्विडेन, अमेरिका, बेलायत, डेनमार्क, नेदरल्यान्ड्स, फिनल्यान्ड, सिंगापुर, जर्मनी र कोरिया परेका छन् । कोरिया पहिलोपटक उत्कृष्ट दशमा परेको हो । उच्च आय भएका देशहरूमध्ये स्विटजरल्यान्ड, स्विडेन र अमेरिका पहिलो, दोस्राे र तेस्राे स्थानमा छन् ।
यस्तै, उच्च–मध्यम आय भएका देशमध्ये चीन, मलेसिया र बुल्गेरिया क्रमशः पहिलो, दोस्राे र तेस्राे स्थानमा परेका छन् भने मध्यम आय भएका देशहरूमध्ये भियतनाम, युक्रेन र भारत पहिलो, दोस्राे र तेस्राे स्थानमा परेका छन् । जिआइआई कोर्निल विश्वविद्यालय, इन्सिड र विश्व बौद्धिक सम्पत्ति संगठन (डब्ल्युआइपिओ) को सहकार्यमा प्रकाशन हुने गरेको छ । नेपाल सन् १९९७ मा डब्ल्युआइपिओ सदस्य राष्ट्र बनेको थियो ।