सल्यानमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

सल्यान/ कुमाख गाउँपालिका– २, खारखोलामा फोर्स गाडी सडकबाट करिब १५० मिटर तल खस्दा ६ जना घाइते भएका छन्। सोमबार दिउँसो सल्लीबजार–चौरजहारी सडकखण्डमा रुकुम पश्चिमको सिम्लीबाट नेपालगन्जतर्फ जाँदै गरेको लु प्र ०१.००१ ज ०८७८ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो।

प्रहरीका अनुसार सानीभेरी गाउँपालिका–९, रुकुम पश्चिमका २१ वर्षीय चालक रूपक डाँगीले चलाएको उक्त गाडीमा चालकसहित सातजना सवार थिए।

घाइते हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१ की २८ वर्षीया सुनीता बुढा, सानीभेरी गाउँपालिका– ८ की ४४ वर्षीया रती बुढाथोकी, जाजरकोटको बारेकोट गाउँपालिका– ६ की २० वर्षीया बिमला नेपाली, सोही स्थानकी २० वर्षीया उजेरी सिंह, नलगाड नगरपालिका– १० की २१ वर्षीया मीना सुनार रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।

घाइतेमध्ये थप एकजनाको परिचय खुल्न बाँकी छ। भट्टराईका अनुसार घाइतेहरूको रुकुम पश्चिमस्थित चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुझावित समाचार