भारतका विदेशसचिव हर्षबर्धन शृंगलाले राजनीतिक उतारचढाब वेलावेलामा भइरहे पनि नेपाल र भारतको सम्बन्ध निरन्तर अघि बढ्ने बताएका छन् । शुक्रबार भारतको विश्व सम्बन्ध परिषदद्वारा आयोजित वेबिनारलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्ध संस्थागत रूपमा नै विशिष्ट रहेको पनि टिप्पणी गरेका छन् । विदेशसचिव शृंगलाले नेपाल–भारत सीमावार्ताका बारेमा भने केही बोलेनन् ।
‘नेपाल र भारतको सम्बन्ध जनस्तरको हो । कोभिड– १९ को महामारीबीच व्यापार, आपूर्ति निरन्तर भइरहेको छ । हाम्रो परिवर्तन नहुने सम्बन्ध हो । वेलावेलामा राजनीतिक उतारचढाब भए पनि सम्बन्ध निरन्तर अघि बढ्छ,’ विदेशसचिव शृंगलाले भने । प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो कार्यकालमा चारपटक नेपाल भ्रमण गरेको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालसँग भारतको विशिष्ट सम्बन्ध संस्थागत रूपमा नै रहेकोसमेत टिप्पणी गरे ।
विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विदेश मामिलाविज्ञहरूले शृंगलालाई नेपाल र श्रीलंकाको नामै लिएर छिमेकमा भारतको सम्बन्ध किन बिग्रेको भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘खुला सिमाना, सांस्कृतिक सभ्यताको सम्बन्ध भएको नेपाल–भारत सम्बन्ध संस्थागत रूपमा नै विशिष्ट छ । राजनीतिक उतारचढाब हुँदा, सरकारहरूबीच सवालजवाफ भइरहे पनि सम्बन्ध जारी रहन्छ ।’
कोभिड– १९ को महामारीबीच नेपाललाई भारतले टेस्ट किट्सलगायतका औषधिजन्य सामग्री सहयोग गरेको पनि विदेश सचिव शृंगलाले बताए । उनले नेपाल, बंगलादेश, भुटानमा आपूर्ति निर्वाध भइरहेको र छिमेकीहरूसँग संवाद भइरहेको पनि उल्लेख गरे । छिमेकी देशहरूसँग भारतले सबका साथ सबका विकासको मान्यताअनुसार सहकार्य गर्ने भारतीय नीति रहेको विदेशसचिव शृंगलाको भनाइ थियो । उनले भारतको विकास सहायताको करिब ३५ प्रतिशत छिमेकी देशहरूमा जाने गरेको र समुदायलाई समेत सहयोग पुग्ने गरी भारतले सहयोग दिँदै आएको पनि बताए ।
विदेशसचिव शृंगलाले छिमेकी मुलुकहरूसँग भारतले आपसी आत्मसम्मान, आपसी हितमा आधारित सम्बन्ध सञ्चालन गरिरहेको बताए । उनले छिमेकी देशहरूबीच फरक मत भइरहन सक्ने, तर छलफलबाट समाधान निकाल्ने पनि उल्लेख गरे । भारत यो क्षेत्रमा संकटको पहिलो उद्धारकर्ता मात्र नभएर छिमेकीहरूको सुरक्षाको भरोसायोग्य मुलुकसमेत भएको विदेशसचिव शृंगलाको भनाइ थियो । कोभिड– १९ विरुद्ध खोप उत्पादन भएको अवस्थामा भारतले छिमेकी देशहरूलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।
भारतको विदेशनीतिमा सीमा जोडिएका छिमेकी, दक्षिण एसिया उच्चतम प्राथमिकतामा रहेको उनको भनाइ थियो । चीनसँग पनि सैन्य र कूटनीतिक तहमा संवाद भइरहेको र चाँडै लद्दाख क्षेत्रमा उत्पन्न तनाव साम्य हुने उनको विश्वास थियो ।
सार्कको वैकल्पिक संयन्त्र बिमस्टेक
भारतीय विदेशसचिव शृंगलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को वैकल्पिक संयन्त्रको रूपमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) स्थापित भएको पनि जिकिर गरे । सार्कलाई पश्चिमतर्फ ढल्केको र बिमस्टेकलाई पूर्वतर्फ ढल्केको व्यापक संगठनका रूपमा व्याख्या गर्दै विदेशसचिव शृंगलाले बिमस्टेकको पाँचौँ सम्मेलनको प्रतीक्षारत भएको पनि बताए ।
बिमस्टेकले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्ने उनको भनाइ थियो । उनले सार्कलाई सर्पवक्षीय सहमति अनिवार्य भएको सीमितताहरू धेरै भएको संयन्त्रका रूपमा उनले व्याख्या गरे । पाकिस्तानको नाम नलिईकन उनले सार्क प्रक्रियालाई एउटा देशले निरन्तर अवरोध गरिरहेको आरोप पनि लगाए ।