वामदेवलाई राष्ट्रिय सभामा पठाउन प्रधानमन्त्री तयार, सचिवालयले लियो औपचारिक निर्णय

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन प्रधानमन्त्री केपी ओली तयार भएका छन् । बिहीबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय लिएको छ । बैठकको सुरुमै ओलीले गौतमलाई राष्ट्रिय सभाको सदस्यमा नियुक्तिका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्न लागेको बताएका थिए ।

ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेका थिए । पूर्ववत निर्णयअनुसार आफू राष्ट्रिय सभा सदस्य भई सरकारमा जाने उपाध्यक्ष गौतमले सार्वजनिक रूपमै दाबी गरेपछि प्रधानमन्त्री ओलीमाथि ठूलै नैतिक दबाब परेको थियो ।  

नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली र ईश्वर पोखरेलबाहेक सात सदस्य गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पक्षमा थिए । पार्टी एकताका लागि भन्दै केही समय अगाडि ६बुँदे प्रस्ताव अगाडि सारेका गौतमले केही नेताहरूसँगको परामर्शमै राष्ट्रिय सभा सदस्यसहित सरकारमा जाने प्रस्ताव अगाडि सारेका थिए। 

राष्ट्रपतिले मनोनयन गर्ने एक सांसदको पद राष्ट्रिय सभामा खाली छ । खाली पदमा  गौतमलाई मनोनयन गर्नेबारेमा गत १४ फागुनमा बसेको नेकपाको सचिवालय बैठकमा निर्णय भएको थियो । तर, पार्टीभित्रै र अन्य क्षेत्रबाट तीव्र विरोध आएपछि उक्त निर्णय तत्कालका लागि कार्यान्वयनमा जान सकेको थिएन ।

संसद् सदस्य नरहे पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको जगमा पछिल्लोपटक फागुनमा अर्थमन्त्रीमा निरन्तरता पाएका खतिवडाको कार्यकाल २१ भदौमा सकिँदै छ । 

सुझावित समाचार