बंगलादेश सरकारले नेपाललाई ५० हजार टन युरिया मल पैँचो दिने भएको छ । नेपालमा भएको मलसंकट समाधानका लागि नेपाल सरकारको आग्रहमा बंगलादेशले उसको सञ्चित एक लाख टनमध्ये आधा नेपाललाई दिन सहमति जनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच मंगलबार भएको टेलिफोन संवादमा बंगलादेशले पैँचोमा (पछि फिर्ता गर्नुपर्ने गरी) ५० हजार टन युरिया मल नेपाललाई तत्काल उपलब्ध गराउने वचन दिएको हो ।
काठमाडौंस्थित बंगलादेशको दूतावासमार्फत दुई सरकारको कूटनीतिक च्यानलमा यसबारे निरन्तर संवाद भएको थियो । स्रोतका अनुसार बंगलादेश सरकारसँग हाल एक लाख टन युरिया मल स्टक (सञ्चित) रहेकोमा आधा नेपाललाई दिने भएको हो ।
नेपालले बंगलादेशलाई मल कहिले फिर्ता गर्ने भन्ने समय नतोकिएको कूटनीतिक स्रोतले जनाएको छ । टेलिफोन संवादपछि प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘अपराह्न मैले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग फोनमा नेपाल बंगलादेश सम्बन्धका विभिन्न पक्षहरूमाथि उपलब्धिपूर्ण संवाद गरेँ । खेतीको यो मौसममा युरिया मलको तत्काल आपूर्तिका निम्ति मेरो अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनुभएको छ ।’ प्रधानमन्त्री ओलीले व्यापार, ऊर्जा, पारवहनसहित अन्य विषयमा दुई देशबीच सहकार्य वृद्धि गर्नुपर्ने आवश्यकतामा दुवै प्रधानमन्त्रीहरूले जोड दिएको उल्लेख गरेका छन् ।
परराष्ट्र मन्त्रालयद्वारा मंगलबार साँझ जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा प्रधानमन्त्री हसिना, बंगलादेश सरकार र जनतालाई बधाई दिएका थिए ।
दुई प्रधानमन्त्रीबीच विद्युत् उत्पादनमा साझेदारी, ग्रिड कनेक्टिभिटी, नेपालबाट बंगलादेशमा विद्युत् आपूर्ति, अवरोधरहित सन्तुलित व्यापारको प्रवर्द्धनलगायतका विषयमा छलफल भएको थियो । बंगलादेश हुँदै नेपालको यातायात सुविधामा सुधार भएको, कनेक्टिभिटी बढेको, पर्यटन प्रवर्द्धनलगायतका विषयमा भएका प्रगतिबारे दुवै प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले बंगलादेशको रोहनपुरदेखि भारतको सिंगाबाद रेल लाइनका क्रममा नेपाललाई अतिरिक्त रेलमार्ग उपलब्ध गराएकोमा बंगलादेश सरकारलाई धन्यवाद दिएका छन् ।
परराष्ट्रका अनुसार दुई प्रधानमन्त्रीबीच कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि दुवै सरकारले चालेको कदमबारे जानकारी आदान–प्रदान भयो । बंगलादेशले नेपाललाई पाँच हजार थान इन्जेक्सन तथा आवश्यक औषधि तथा औषधिजन्य सामग्री उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले धन्यवाद दिएका थिए ।
बंगलादेश खाद्यमा आत्मनिर्भर भएकोमा बधाई दिँदै प्रधानमन्त्री ओलीले नेपालले बंगलादेशको कृषिको सफलताबाट पाठ सिक्न खोजेको पनि बताएका थिए । उनीहरूबीच नेपालमा भएको चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा भएका भेटवार्ताको स्मरण गर्दै आर्थिक विकास र समृद्धिका लागि क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । दुई देशबीच उच्चतम राजनीतिक नेतृत्वबीच भ्रमण आदानप्रदान गर्नुपर्नेमा पनि दुवै प्रधानमन्त्रीले छलफल गरेको परराष्ट्रले जनाएको छ ।