जतिवेला म सुनाउन चाहन्थेँ, मेरो एक्लोपन
मेटाउन चाहन्थेँ, एकान्तको छट्पटी
त्यतिवेला
तिमीहरू व्यस्त थियौ परदेशमा
म सुन्न चाहन्थेँ ‘आमा’ भन्ने तिम्रो आवाज
उँधौली उँभौलीमा एकपटक
छमछम नाचेको हेर्न चाहन्थेँ
म चिन्ता राखेर शिर उभ्याउन चाहन्थेँ तिम्रो
अन्तिम समयसम्म
भाकिरहन्थेँ तिम्रो दीर्घायु
तर, तिमीहरू व्यस्त थियौ परदेशमा
मैले आँगनको बयँसलाई
खुप सुनाएको छु तिम्रो सम्झना
तिम्रो आपाले रोपेको बुढो धुपीलाई सम्झाएको छु
बाटाहरूलाई भनेको छु
मेरो सन्तानलाई निःसन्देह आउन दिनू
मैले नदीहरूलाई भनेको छु
नछेक्नु उनीहरूको बाटो
मैले घामजूनलाई सम्झाएको छु
उदाइरहनू ऊ बस्ने आकाशमा
छोरी !
पटक्कै नरुनू मेरो चिहानछेउ
नरुनू आँगनको डिलमा बसेर
अहँ, नभत्काउनू पुरानो घर
जहाँ मैले बाँचेको इतिहास छ
तिमीले हुर्केको बाल्यकाल छ
हामीले गुजारेको समयकाल छ
छोरी !
तिमी जरुर आउनू र लिनू आशीर्वाद
यी मक्किएका घरको धुरीखाँबाहरूबाट
एकपटक बालिदिनू आगो सुप्तुलुङमा
मेरो सम्झना आए
सुम्सुम्याउनू घरका यी भित्ताहरू
आँगनको बयँसमा सुसेल्दै म आउनेछु
निदरीमा ऐंठन परेछौ भने
सम्झनू माछाकुमा
सपनीमा देखिहाले मलाई
जरुर नरुनू
बरु बिहान चढाइदिनू एक आम्खोरा पानी फूलबारीमा
म तिर्खाएको हुन सक्छु
छोरी !
तिमी एकपटक जरुर आउनू
र यो ढल्नै लागेको घर हेरेर फर्कनू
यो आँगनको माटो ढोगेर जानू
मेरो आत्मा यतै कतै अलमलिएको हुन सक्छ
बोलाएर नछुङलाई बाटो लगाउनू
म उँभोउँभो सिलिचुङतिर सुनपाती भैरम्पाती भई फुलुँला
म उँधोउँधो खुवालुङतिर माछा भै डुलुँला
तिमीले बिर्सी गए पनि बाल्यकाल
बिर्सी गए पनि अभावको भोटो
एक मुठी जन्मभूमिको माटो लिएर जानू
एक चिम्टी अँगेनुको खरानी लिएर जानू
छोरी ! तिमी जरुर आउनू एकपटक
मलाई तिमी देख्ने गहिरो चाहना छ