काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन्।
बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको विश्व पर्यटन बजार (डब्ल्युटिएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतका पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावत, युएईका अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलंकाका सहायक पर्यटनमन्त्री प्र. रुवन रणतुंगे तथा भारतीय राज्यसभा सदस्य एवं लेखिका सुधा मूर्तिसँग भेटवार्ता गरेका हुन्।
भेटमा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि, सांस्कृतिक आदानप्रदान र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल भएको छ।
मन्त्री पौडेलले नेपाललाई आकर्षक, सुरक्षित र प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय साझेदारी र लगानी विस्तारमा सरकार प्रतिबद्ध रहेको बताए।
डब्ल्यूटिएममा नेपालले दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, आध्यात्मिक तथा वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिरहेको छ। सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा अघि बढाउने तयारीसमेत मेलामा प्रस्तुत गरिएको छ।
मन्त्री पौडेलले नेपाल प्याभिलियनको उद्घाटन गरेका छन्। नेपाल पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी मेलामा ३२ नेपाली पर्यटन कम्पनीले स्टल नम्बर एन ८–५३० बाट आफ्ना सेवा तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिरहेका छन्।
यसैगरी, हालैका बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण जारी रहे पनि काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटन गतिविधि सञ्चालन भइरहेको सन्देश नेपालले अन्तर्राष्ट्रिय बजारमा दिएको छ।
‘नेपाल खुला छ’ (नेपाल इज ओपन) अभियानमार्फत नेपाल भ्रमणले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा निर्भर समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने सन्देशसमेत प्रवाह गरिएको छ।