धनगढी। धनगढी उपमहानगरपालिका– १८, फूलबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका बासिन्दालाई घरपायकमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगर अस्पताल सञ्चालनमा ल्याएको हो ।
फूलबारी क्षेत्र पर्ने वडा नम्बर १४, १८ र १९ का वडाध्यक्षहरूले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरेका छन् । नगर अस्पताल सञ्चालनमा आएसँगै यी तीनवटै वडा तथा आसपासका बस्तीका बासिन्दाले फूलबारीमै अस्पतालस्तरको उपचार सेवा पाउने भएका छन् । यसअघि ती क्षेत्रका बासिन्दा सामान्य उपचारका लागि समेत धनगढी बजार पुग्नुपर्ने बाध्यता थियो । फूलबारीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पूर्वाधार र जनशक्ति थप गरी १५ शय्याको नगर अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो ।
अस्पतालमा बहिरंग सेवा (ओपिडी), प्रयोगशाला, एक्सरे र फार्मेसीलगायत सेवा उपलब्ध रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले फूलबारीस्थित नगर अस्पतालमा आकस्मिक तथा अन्तरंग सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार हाल ६ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । आगामी दिनमा विशेषज्ञ चिकित्सकमार्फत थप जाँच तथा उपचार सेवा उपलब्ध गराउने योजना उपमहानगरपालिकाको रहेको छ ।
नगर अस्पताल सञ्चालनमा आएसँगै स्वास्थ्य उपचारमा सहज हुने स्थानीय बासिन्दाको विश्वास छ । उनीहरूले अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा पनि सुरु गर्न माग गरेका छन् ।
नगर प्रमुख गोपाल हमालले उपमहानगरपालिकाको ग्रामीण क्षेत्रका बासिन्दालाई गाउँघरमै सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले फूलबारीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको बताए । अस्पताल उद्घाटन समारोहमा उनले ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले काम गरिरहेको बताए ।