काठमाडौं । चक्रवात ‘अर्नब’को असरस्वरूप बिहीबारबाट नेपालमा सुरु भएको वर्षा आज शुक्रबार र भोलि शनिबार अझ बढी हुने भएको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुनेछ । त्यसमा पनि कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको चेतावनी दिइएको छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले चक्रवातको असर शनिबार रातिसम्म रहने बताए । ‘वर्षाका गतिविधि बिहीबार रातिबाट सुरु भइसकेको छ । शुक्रबार, त्यसमा पनि राति अझ बढी हुने देखिन्छ,’ उनले भने, ‘कोशी, बागमती र गण्डकीको हिमाली क्षेत्रमा भारी हिमपात हुने आकलन छ । त्यहाँ बढी असर हुन्छ ।’
महाशाखाले जारी गरेको नियमित बुलेटिनअनुसार शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा वर्षा हुनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग र ती प्रदेशका बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत चेतावनी महाशाखाले दिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुने आकलन छ ।
शुक्रबार राति भने देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा तथा हिमपात सम्भावना छ ।
शनिबार कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षा हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको चेतावनी दिइएको छ ।
शनिबार राति भने वर्षा घट्नेछ । हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको आकलन छ ।