बिहीबार १० बजेसम्मका प्रमुख १० खबर

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

विराटनगरविरुद्ध कर्णालीको धमकेदार जित

 कप्तान सोमपाल कामी, गुल्शन झा र पवन सरार्फको सम्हालिएको ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ । कर्णालीले लगातार दोस्रो जित निकाल्ने क्रममा विराटनगरलाई ४ विकेटको जित निकाल्यो । 

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा  कर्णालीले  एक बल बाँकी रहँदै जित निकाल्यो । 

कर्णालीको यो लगातार दोस्रो जित हो ।  कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो । यता, विराटनगर भने लगातार दोस्रो हार बेहोर्न पुग्यो । पहिलो खेलमा चितवन राइनोजविरुद्ध ८ विकेटले पराजित भएको थियो । 

आज राति कोशीदेखि गण्डकीका धेरै ठाउँमा पानी पर्ने

बंगालको खाडीमा बनेको ‘अर्नब’ चक्रवातको असरस्वरूप आज बिहीबार रातिबाट देशभर पानी पर्ने प्रक्रिया सुरु हुने भएको छ। त्यसमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा पानी पर्ने नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी नेपालमा भने साँझबाट पानी पर्न सुरु भइसकेको छ।

महाशाखाका अनुसार राति मधेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा/हिमपातको आकलन गरिएको छ। लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

प्रहरी प्रधान कार्यालयमा पाँच घण्टा लामो उच्चस्तरीय बैठक

 प्रहरी प्रधान कार्यालयमा समसामयिक विषयमा पाँच घण्टा लामो छलफल भएको छ । एसएसपीसम्मका अधिकृतलाई बोलाएर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विस्तृत छलफल गरेका हुन्। 

नीति समन्वय बैठकमा शान्तिसुरक्षामा तथा प्रहरी संगठनसम्बन्धी विषयमा छलफल भएको एक उच्च प्रहरी अधिकारीले बताए । बैठकमा सातै प्रदेशका डिआइजीलाई समेत डाकिएको थियो । 

२ अर्बभन्दा बढीको क्रिप्टोकरेन्सीसहित २८ वर्षीय युवक पक्राउ

२ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँबराबरको क्रिप्टोकरेन्सीसहित एक २८ वर्षीय युवक पक्राउ परेका छन्।

बाइनान्स आइडीमार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८ युएसडिटी (दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँ)बराबरको कारोबार गरेको आरोपमा प्रहरीले धनुषाको सबैला नगरपालिका– १२ का सुनीलकुमार यादवलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो। काठमाडाैं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

काठमाडौं गोर्खाजविरुद्ध जनकपुरको सहज जित

लगातार विकेट गुमाउँदै ११५ रनमै समेटिएको काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले सहज जित निकालेको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुरले काठमाडौंलाई आठ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो।

काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अली र सैफ हसन नायक बने। मोइनले ५१ बलमा अविजित ५८ रन बनाए भने सैफले ३९ बलमा नटआउट ४० रन जोडे। यी दुईले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए।

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकार उच्च सतर्कतामा

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार भारतको आन्ध्र प्रदेश र विशाखापटनमआसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही हावाहुरीको सम्भावना भने यथावत् रहेको छ। 

सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले ठाउँठाउँमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। उता पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक एवं पर्वतारोही टोलीहरूलाई आग्रह गरेका छन्। 

हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ। 

यसैगरी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्यांकन गरी पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणमा आह्वान गरेका छन्। 

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने

 नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले आज सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क संकलन सुरु गरिने जनाएको हो।

ललितपुरमा पाँचदिने गोदावरी फूलको प्रदर्शनी सुरु (फोटोफिचर)

ललितपुरमा तिहार तथा छठ पर्वलाई लक्षित गर्दै १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित सुरु भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।

प्रदर्शनीमा ८६ वटा स्टलमार्फत नेपालमा उत्पादित तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री तथा प्रदर्शनका लागि राखिएका छन्। गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धासमेत आयोजना गरिएको छ।

कांग्रेस पदाधिकारीको वरीयताक्रम निर्धारण

 नेपाली कांग्रेस पदाधिकारीको वरीयताक्रम निर्धारण गरिएको छ। पदाधिकारीले बिहीबार शपथ लिएका हुन्।

वरीयताक्रममा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी छन्। त्यसपछि महामन्त्रीहरू प्रदीप पौडेल, डिला संंग्रौला र उदयशमशेर राणा छन्।

सहमहामन्त्रीमा बहादुरसिंह लामा, योगन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आङगेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, मनोजमणि आचार्य र फिरदोश आलम छन्।

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे आठ अर्बमाथि

बिहीबार पनि सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ३१.५४ अंकले बढेर दुई हजार ६ सय ९५.६० विन्दुमा कायम भएको हो। गत सोमबार ४ अंकको गिरावटबाहेक २२ असोजदेखि सेयर बजार लगातार उकालो लागिरहेको छ।

आज ३५० कम्पनीको दुई करोड ३२ लाख ५८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ५७ करोड ९८ हजार रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। बुधबार सात अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो।

 

सुझावित समाचार