धनुषा। प्राज्ञिक विकास र गुणस्तरको सवालमा ठोस मुद्दाहरू उठाउँदै राजर्षि जनक विश्वविद्यालयले आफ्नो नवाैँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ।
स्थापनाको नाै वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले परम्परागत शैलीलाई तोड्दै अबका दिनमा गर्ने सुधार र मुख्य एजेन्डाहरूलाई सार्वजनिक गरेको हो।
कार्यक्रमको आरम्भमा विश्वविद्यालयका रजिस्ट्रार डा. जीवन काफ्लेद्वारा राष्ट्रिय झन्डा र विश्वविद्यालयको झन्डोतोलन गरिएको थियो भने उपकुलपति र रजिस्ट्रारद्वारा जारी संयुक्त शुभकामना सन्देशमा विश्वविद्यालयलाई गतिशील बनाउने एजेन्डालाई मुख्य प्राथमिकतामा राखिएको थियो।
यसपटकको वार्षिकोत्सवमा विश्वविद्यालयको प्रशासनिक, प्राज्ञिक र भौतिक सुधारका इस्युहरूले बढी प्राथमिकता पाएका छन्।
विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक, प्रशासनिक, परीक्षा र लेखा प्रणालीलाई पूर्ण रूपमा 'सिकाइ व्यवस्थापन प्रणाली' (LMS) र एकीकृत डिजिटल नेटवर्कअन्तर्गत 'सेन्ट्रलाइज्ड' प्रणालीमा लैजाने घोषणा गरेको छ, जसले विद्यार्थीहरूलाई अनलाइनमार्फत नै सेवा लिन सहज बनाउनेछ।
यस्तै, 'स्कुल अफ हेल्थ साइन्स'को प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधारहरूको निर्माणलाई तीव्र गति दिने र प्रयोगशालाहरूलाई प्रविधिमैत्री बनाउने विषयलाई मुख्य विषयका रूपमा उठाइएको छ।
मधेश प्रदेश र बजार मागअनुसार नैतिकवान्, प्राविधिक र नवप्रवर्तनकारी जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा समयानुकूल सुधार गर्ने तथा विश्वविद्यालयभित्र हुने प्रशासनिक ढिलासुस्ती र बेथितिलाई अन्त्य गरी चुस्त कार्यशैली अपनाउने प्रतिबद्धता पनि जनाइएको छ।
समारोहमा विश्वविद्यालयका डिनहरू, प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।