सिन्धुपाल्चोक । भौगोलिक रूपमा विकट क्षेत्र जुगल गाउँपालिकाले २७ असोजबाट भ्रमण वर्ष ०८३ सुरुवात गरेको महिना नपुग्दै हिमाली बस्ती र ब्रह्मायणी करिडोरमा सकारात्मक प्रभाव पर्न थालेको छ ।
जुगल प्रवेश गर्ने ढोका बलेफी बजारदेखि हिमाली गाउँ तेम्बाथाङसम्मै पर्यटक आवतजावत भइरहँदा स्थानीय युवाले रोजगारी पाएका छन् भने ग्रामीण बजार पनि चलायमान भएको पाइएको छ। प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन २०ओैँ गाउँसभाले जुगल भ्रमण वर्ष घोषणा गरेको हो ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले उद्घाटन गरेको भ्रमण वर्ष आउँदो पुस मसान्तसम्म जारी रहनेछ । पौडेलले नयाँ पत्रिकासँग कुरा गर्दै जुगल गाउँपालिकाले तय गरेको भ्रमण वर्षका लागि बागमती प्रदेश सरकारले आर्थिक सहकार्य गर्ने जानकारी दिए ।
भ्रमण वर्षको उद्देश्य महत्त्वपूर्ण भएकोले पालिकाले तयार पारेको गुरुयोजना र समग्र कार्यक्रमको प्रदेश सरकारले स्वामित्वसमेत लिने प्रस्ट्याए । ‘जुगल हिमालको प्रचार अन्तर्राष्ट्रियस्तरमा पुग्न सके सिन्धुपाल्चोकलाई धेरै फाइदा हुन्छ । धेरै पालिकाले आर्थिक उपार्जन गर्न सक्छन्,’ उनले जोड दिए ।
भ्रमण वर्षको सुरुमै पर्यटक आगमन सन्तोषजनक रहेको, स्थानीय युवालाई रोजगारी मिलेको र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थालेको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए । ‘सुन्दर जुगल हिमालको प्रचारसँगै विकट हिमाली क्षेत्रमा जलवायु अनुकूलनसम्बन्धी क्रियाकलाप, आर्थिक गतिविधि र ब्रह्मायणी करिडोरमा रहेका बजार सञ्चालनमा प्रभाव परेको छ,’ उनले भने ।
भ्रमण वर्षको घोषणासँगै जुगल हिमाल आरोहणतर्फ पर्वतारोहीहरूको आकर्षण बढेको छ। पर्यटन व्यवसायी मिलन तामाङले दिएको जानकारीअनुसार हालसम्म ६ वटा समूहले जुगल हिमाल आरोहणको प्रयास गरिसकेका छन् । अहिले पनि तीनवटा समूह जुगल बेसक्याम्पमै रहेको उनले बताए । हिमाल आरोहणका लागि बेलायती, अमेरिकी, जापानी र कोरियन नागरिकहरू जुगल क्षेत्रमा आउने क्रम जारी रहेको छ। तामाङले भने, ‘भ्रमण वर्षको सुरुमै विदेशी तथा स्वदेशी पर्वतारोही ठुलो संख्यामा जुगल बेसक्याम्प पुग्नु खुसीको कुरा हो ।’
हिमाली क्षेत्रका स्थानीय बासिन्दाले पर्यटनमार्फत नयाँ रोजगारीका अवसरहरू पाएका छन्। वडा नं. ३ को गुम्बा र तेम्बाथानका स्थानीय युवाहरूले पर्यटकहरूलाई गाइड गर्ने तथा भरियाको काम गरेर राम्रो आर्थिक उपार्जनको अवसर प्राप्त गरेका छन्।
पर्यटकहरु मुख्यतः जुगल हिमाल आरोहण गर्न, मनोरञ्जनका लागि बेसक्याम्पसम्म पुग्न, धार्मिकस्थल नेपेमासालसम्म जान र ब्रह्मायणी करिडोरमा रहेका सांस्कृतिक सम्पदा तथा प्राकृतिक सौन्दर्य अवलोकन गर्न जुगल आउने गरेका छन् । विगत तीन वर्षयता जुगल क्षेत्र घुम्न जाने पर्यटक धेरै बढेका छन् । भ्रमण वर्षमा आएका पर्यटकहरूले स्थानीयस्तरमा सञ्चालित होमस्टेहरूको समेत भरपुर उपभोग गरेका छन्।
गुम्बामा रहेको लालुङपाल सामुदायिक होमस्टे, तेम्बाथान होमस्टे र हगामको पाख्रिन होमस्टेमा पर्यटक टुट्दैनन् ।भ्रमण वर्षलाई प्रभावकारी बनाउन गाउँपालिकाले साहसिक पर्यटन, खेलकुद, सांस्कृतिक उत्सव, जलवायु संवाद तथा लगानी प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम तय गरेको छ।
कार्यक्रममा जुगल म्याराथन, हिमाल आरोहण तथा ट्रेकिङ, साइक्लिङ र मोटर बाइकिङ, धार्मिक तथा सांस्कृतिक महोत्सव, लामा नाच तथा फुड फेस्टिभल समावेश छन्। त्यस्तै, ‘जुगल जलवायु संवाद’ सञ्चालन, जलवायु परिवर्तनसम्बन्धी वृत्तचित्र निर्माण तथा प्रदर्शन, स्थानीयलाई हरित पर्यटनसम्बन्धी तालिम, होमस्टे तथा आतिथ्य व्यवस्थापन तालिम र पर्यटन सूचना केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारिएको छ। पर्यटन व्यवसायीबिच भेटघाट, नयाँ पदमार्ग अध्ययन तथा पर्यटन विकासका लागि लगानी प्रवर्द्धनलाई समेत अभियानमा समेटिएको छ।
भ्रमण वर्षको अवधिमा पर्यटकलाई आकर्षित गर्न जुगल गाउँपालिकाले विभिन्न छुट तथा सहुलियतका कार्यक्रम प्रस्ताव गरेको छ। गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्ने पदयात्री तथा आरोहीलाई स्थानीय प्रवेश शुल्क, पदयात्रा अनुमतिपत्र र संरक्षण क्षेत्र शुल्कमा विशेष छुट दिने योजना छ। स्थानीय होमस्टे, होटेल तथा लजमा बस्ने र खाना खाने पर्यटकका लागि विशेष छुट प्याकेजको व्यवस्था गरिएको छ।
स्थानीय कृषि उपज, हस्तकलाका सामग्री तथा परिकार खरिदमा सहुलियत दिने, उच्चहिमाली क्षेत्रमा पदयात्रा तथा आरोहणका क्रममा दुर्घटना वा स्वास्थ्य समस्या भए उद्धार समन्वय र सहयोग उपलब्ध गराउने तयारी रहेको छ।
प्रमुख पदमार्गमा अस्थायी स्वास्थ्य शिविर, प्राथमिक उपचार सामग्री, अक्सिजन सिलिन्डर तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, पर्यटकको सुरक्षा अनुगमन र आपतकालीन सम्पर्कका लागि डिजिटल सहायता प्रणाली तयार गर्ने कार्यक्रम रहेको छ।
स्थानीय युवालाई लक्षित गरी एडभान्स माउन्टेन गाइड तालिम सञ्चालन गर्ने र तालिमप्राप्त गाइडलाई पर्यटकसँग जोड्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ । भ्रमण वर्षमा जुगलका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसार गरिनेछ।
गाउँपालिकाले जुगल भ्यु प्वाइन्ट, सिन्दुर्चे, अमिलो पानी, मञ्जुश्री पार्क, मिनी रंगशाला, एकीकृत बस्ती, डल्ले पोखरी, दोम्रोङ पोखरीलगायतका स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गरेको छ। त्यसैगरी जुगल बेसक्याम्प, नेपेमासाल, श्याबल पोखरी, बुम्बाशेर्बु, तिलमान पास र ताक्पदिङ क्षेत्रको पर्यटन सम्भावनालाई पनि प्रवर्द्धन गरिनेछ।