मूलघाटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

धनकुटा । धनकुटाको मूलघाटमा आज बिहान मालवाहक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

बिहान करिब २:३० बजे धनकुटा नगरपालिका– ९, मूलघाटस्थित कोशी लोकमार्गमा ट्रक दुर्घटना हुँदा ट्रकचालक सुनसरीको इटहरी उपमहानगरपालिका– ८ निवासी २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका– ४ निवासी १८ वर्षीय राहुल चौधरी घाइते भएका छन् ।

सुनसरीको इटहरीबाट संखुवासभातर्फ हाइड्रोको केमिकल बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० देखि ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार घाइते दुवैजनालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

चालकको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिए।

सुझावित समाचार