उदयपुर । नेपालको एकीकरणकालीन इतिहास बोकेको उदयपुरगढीले पुनर्निर्माणपछि नयाँ स्वरूप पाएसँगै आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ । कुनै समय युद्धको मोर्चा र सैनिक सुरक्षा संरचनाले भरिएको ऐतिहासिक स्थल उदयपुरगढी अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेको हो ।
उदयपुरगढी गाउँपालिका– ५ मा रहेको यो गढी जिल्लाको पुरानो सदरमुकामसमेत हो । गाउँपालिकाको केन्द्रबाट करिब एक किलोमिटर उत्तर र नेपालटारस्थित मदन भण्डारी राजमार्गबाट करिब नौ किलोमिटर दूरीमा रहेको गढीमा पुग्ने सडक कालोपत्रे भएपछि पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ ।
पुरानो गढीको भग्नावशेषलाई आधार बनाएर करिब १३० मिटर गोलाकार बंकर निर्माण गरिएको छ । गाउँपालिकाका अधिकृत गुणराज श्रेष्ठका अनुसार बंकरको बिचमा अष्टकोण आकारको गढी बनाइएको छ । त्यहाँ पुग्न फलामे पुल निर्माण गरिएको छ भने गढीभित्र कोतखाना र इनारसमेत राखिएका छन् ।
ढुंगाका ब्लक प्रयोग गरेर बनाइएको पर्खालले प्राचीन किल्लाको झल्को दिन्छ। ‘अहिले त्यही पुनर्निर्माण गरिएका संरचना पर्यटकको रोजाइको केन्द्र बन्न थालेका छन्,’ श्रेष्ठ भन्छन्, ‘चालू आर्थिक वर्षमा दुई लाख एक हजार पाँच सय रुपैयाँमा ठेक्का दिएर पर्यटकीय केन्द्र गढीबाट राजस्व संकलन पनि हुन थालेको छ ।’
उनको भनाइमा कुनै वेला वर्षमा तीन–चार हजार पर्यटक पुग्ने गढीमा अहिले मासिक रूपमै एक हजारदेखि दुई हजारको संख्यामा पर्यटक पुग्न थालेका छन् । यस चाडपर्वमा पर्यटकको संख्या बढेको उनले बताए । उनले भने, ‘गढीको इतिहास र महत्त्वबारे जानकारी दिने सामग्री, प्रचारप्रसार तथा पर्यटकीय सेवा विस्तारमा अझै जोड दिनुपर्ने समय आएको छ ।’
गढी परिसरमा बगैँचा, सार्वजनिक शौचालय, कार्यक्रमस्थल, फलामे भ्यु टावर र घोडामा सवार तत्कालीन शासकको प्रतिमासमेत निर्माण गरिएको छ । भ्यु टावरबाट आसपासका पहाडी भूभागको दृश्यावलोकन गर्न सकिन्छ । गढी पुनर्निर्माणमा गाउँपालिका र पर्यटन मन्त्रालयको गरी चार करोडभन्दा बढी खर्च भइसकेको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । ‘संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यसपालि पनि गाउँपालिकाले सात लाख विनियोजन गरेको छ ।’
गाउँपालिकाका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता होमबहादुर बस्नेत पनि पुनर्निर्माणपछि गढीले नयाँ स्वरूप पाएसँगै पर्यटकको आकर्षण बढ्न थालेको बताउँछन् । उनी भन्छन्, ‘नेपालटारबाट जोडिने सडक कालोपत्रे भएकाले अब पर्यटक बढ्न थालेका छन् । यो उदयपुरको प्रमुख पर्यटकीय क्षेत्र पनि हो ।’