धनकुटा । धनकुटा नगरपालिका– ७ की दलित महिला वडासदस्य आशाकुमारी कामीको निधन भएको छ । मुटु र बाथ रोगबाट पीडित कामीको ५२ वर्षको उमेरमा गएराति घरैमा निधन भएको हो ।
उनको काठमाडौंस्थित गंगालाल अस्पतालमा मुटुको उपचार हुँदै आएको थियो। दसैँको वेला दसैँ मनाउन घर आएको वेला गएराति घरैमा निधन भएको जेठी छोरी नितु विश्वकर्माले बताइन् ।
वडासदस्य कामीको छोरा बुल्गेरियादेखि आज बेलुकासम्ममा घर आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । वडासदस्य कामीका श्रीमान्, दुई छोरी र एक छोरा रहेका छन्। उनी नेपाली कांग्रेस पार्टीको तर्फबाट ०७९ को स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिका– ७ बाट दलित महिला वडासदस्यमा निर्वाचित भएकी थिइन् ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले एक सक्रिय, इमानदार र विकासप्रेमी वडसदस्य गुमाएको धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिलकुमार राईले बताए। यसैिच धनकुटा नगरपालिकाले सूचना जारी गर्दै वडासदस्य कामीको निधनप्रति दु:ख व्यक्त गर्दै आज शोक बिदा घोषणा गरेको छ ।
धनकुटा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर भुजेलद्वारा जारी सूचनामा भनिएको छ, ‘नगरप्रमुखस्तरीय निर्णयअनुसार वडासदस्य कामीको निधनप्रति दुःख व्यक्त गर्दै बुधबार धनकुटा नगरक्षेत्रभित्रका नगरस्तरीय कार्यालयहरू तथा नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एक दिन शोक बिदा दिइएको छ ।’