दाङ। दाङको सौडियारमा जग्गा बिक्री गरिसकेपछि पनि पुनः आफ्नै नाममा स्रेस्ता कायम गराएको आरोपमा छानबिनका लागि उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ।
जग्गा बिक्रीपछि पनि दोहोरो स्रेस्ता कायम रहेको विषयमा अनुसन्धान गर्नुपर्ने भएपछि सम्बन्धित व्यक्तिलाई उपस्थित गराउन पत्राचार गरिएको हो।
साबिक घोराही उपमहानगरपालिका–७ (हाल बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–४) निवासी दिलीप थापाले साबिक सौडियार गाविस–२क अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा बिक्री गरेका थिए। उनले ०५५ साल असार ११ गते कित्ता नम्बर ८४०, ८४२ र ८५५ घोराही– ७ निवासी चन्द्रभानु भट्टराईलाई बिक्री गरेका थिए। त्यसैगरी, ०५५ साल असार १९ गते कित्ता नम्बर ८५२ शारदा भण्डारीलाई बिक्री गरेको विवरणमा उल्लेख छ।
तर, जग्गा बिक्री भइसकेपछि पनि तीमध्येका जग्गाको स्रेस्ता पुनः आफ्नै नाममा कायम गराएको भन्दै थापामाथि दोहोरो स्वामित्व कायम गराएको आरोप लागेको छ। यसबाट आफूहरूलाई असर परेको भन्दै जग्गा खरिदकर्ता चन्द्रभानु भट्टराई र शारदा भण्डारीले थापाको नाममा रहेको स्रेस्ता हटाई आफ्नो नाममा मात्र कायम गरिदिन माग गर्दै भूमि प्रशासन कार्यालय, घोराहीमा निवेदन दिएका थिए।
निवेदनमाथि कारबाही अघि बढाउने क्रममा भूमि प्रशासन कार्यालय, घोराहीले थापासँग सोधपुछका लागि पटक–पटक फोन सम्पर्क गर्ने, पत्राचार गर्ने तथा म्याद तामेल गर्ने प्रयास गरेको थियो। तर, उनी कार्यालयमा उपस्थित नभएको जनाइएको छ।
त्यसपछि भूमि प्रशासन कार्यालय, घोराहीले ०८३ असोज २९ गते जिल्ला प्रशासन कार्यालय, दाङलाई पत्राचार गर्दै थापालाई छानबिनका लागि उपस्थित गराइदिन अनुरोध गरेको थियो।
जग्गा बिक्रीपछि पुनः आफ्नै नाममा स्रेस्ता कायम गरिएको विषयमा सम्बन्धित निकायबाट आवश्यक छानबिन हुनुपर्ने देखिएको छ।
