मूर्ति विसर्जन गरी फर्किँदै गरेकी महिलाको सामूहिक बलात्कार, आरोपीहरूको खोजी जारी

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

लहान । दुर्गाको मूर्ति विसर्जन गरी घर फर्किने क्रममा पाँच दिनअघि करिब २५ वर्षीया महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। सिराहासँगै जोडिएको सप्तरीको सुरुंगा नगरपालिकास्थित आफन्तकोमा पाहुना गएकी महिलामाथि भएको बलात्कारको घटनामा संलग्नहरूको पहिचान भइसकेकाले खोजी तीव्र बनाइएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरू लुकेर बस्न सक्ने सम्भावित ठाउँहरूमा प्रहरी परिचालन गरिएकाले छिट्टै पक्राउ गरी अनुसन्धानसहित कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने कडरबोना प्रहरी प्रमुख प्रहरी निरीक्षक श्याममणि पोखरेलले जानकारी दिए। उनका अनुसार पीडित पक्षले घटनामा संलग्न व्यक्तिहरूविरुद्ध दिएको किटानी जाहेरी गत बिहीबार दर्ता गरी पीडितको स्वास्थ्य परीक्षणसमेत गरिएको छ।

यस्तो थियो घटना
दसैँको अवसरमा गाउँमा दुर्गाको मूर्ति स्थापना गरी विधिवत् पूजाअर्चनासँगै मेलापछि टीकाको दिन बुधबार साँझ पीडित महिला पनि स्थानीयवासीहरूसँगै ट्याक्टर चढेर गाउँदेखि पश्चिमतर्फ पर्ने बलान नदीमा मूर्ति विसर्जनका लागि गएकी थिइन्। नदीमा मूर्ति विसर्जनपछि ट्याक्टरमै घर फर्किने क्रममा बिचबाटोमा डिजेल सकिएर ट्याक्टर रोकिएपछि पैदल फर्किने क्रममा सामूहिक बलात्कारको सिकार भएको किटानी जाहेरीमा उल्लेख छ।  

जाहेरीअनुसार मूर्ति विसर्जनका लागि गएका अन्यलाई त्यहीँ छोडेर घर फर्किँदै गरेकी महिलालाई टिकुलिया गाउँको मदरसादेखि उत्तरतिर पर्ने आँपको बगैँचामा रहेका तीनजनाले नियन्त्रणमा लिई ज्यान मार्ने धम्की दिँदै बलात्कारपछि बेहोस बनाएर फरार भएका हुन्।

बाटोमै रोकिएको ट्याक्टरमा डिजेल हालेर गाउँलेहरू फर्किसक्दासमेत राति अबेरसम्म पीडित घर नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा बेहोस अवस्थामा फेला पारेका थिए। त्यसपछि घटनामा संलग्न पक्षले आर्थिक प्रलोभन दिएर घटनालाई गाउँमै सामसुम पार्ने प्रयास गरेको भए पनि स्थानीय अधिकारकर्मीहरूको सहयोगमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएको जनाइएको छ।

पीडितलाई न्याय दिन माग
सामूहिक बलात्कार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न अधिकारवादी सामाजिक संघसंस्थाले माग गरेका छन्। सुरुंगा नगरपालिका– ४ स्थित जनचेतना दलित संगम र सुरुंगा युथले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महिलामाथि हुने यौन हिंसा मानव अधिकार र महिला सुरक्षामाथिको गम्भीर चुनौती भएको उल्लेख गरेका छन्। घटनामा संलग्नताको किटान गरिएका व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।

संगमले विज्ञप्तिमा पीडित महिला तथा उनको परिवारको सुरक्षाको सुनिश्चिततासहित धम्की, दबाब र प्रलोभनबाट संरक्षणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। सुरुंगा युथले पीडितको गोपनीयता, आत्मसम्मान र न्यायको अधिकारको रक्षा गर्न माग गर्दै घटनालाई जातीय तथा लैंगिक विभेदको दृष्टिकोणबाट समेत संवेदनशीलतापूर्वक सम्बोधन गर्न आग्रह गरेको छ। विज्ञप्तिमा पीडितलाई आवश्यक मनोसामाजिक परामर्श, स्वास्थ्य सेवा र कानुनी सहायता उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।
 

सुझावित समाचार