हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १५, पिपलबोटबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीको संयुक्त टोलीले सोमबार दिउँसो महेन्द्र राजमार्गमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको गाडीबाट गाँजा बरामद गरेको हो। हेटौँडाबाट बारातर्फ जाँदै गरेको बिआर १ एपी ६०७३ नम्बरको गाडी जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीको बोनट, चालकको सिटमुनि र चालकपट्टिको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा प्लास्टिकसहित १९ पोका गाँजा बरामद भएको थियो।
पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, महुवा टोलका २५ वर्षीय बिर्जुकुमार राय र २६ वर्षीय मञ्जयकुमार राय रहेका छन्। उनीहरूलाई बरामद गाँजासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ।