विराटनगरको ‘हिट एन्ड रन’का फरार चालक १६ दिनपछि पक्राउ

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण

मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्रामथान गाउँपालिका–३, सिद्राहास्थित झोसोटोलका २६ वर्षीय अभिषेककुमार माझीलाई प्रहरीले घटना भएको १६ दिनपछि पक्राउ गरेको हो।

प्रहरीका अनुसार २४ असोजको राति करिब ११ बजे ग्रामथान–५, तेतरियाचोकस्थित विराटचोक–घिनाघाट सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको माझीले कुदाएको मोटरसाइकलले पूर्वबाट पश्चिमतर्फ सडक पार गर्दै गरेकी ७० वर्षीया नरमाया त्रिताललाई ठक्कर दिएको थियो। दुर्घटनापछि मोटरसाइकलसहित चालक फरार भएका थिए।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी त्रितालको उपचारका क्रममा २५ असोज बिहान करिब ४ बजे मृत्यु भएको थियो।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी तेतरियाबाट खटिएको टोलीले घटनाको अनुसन्धान थालेको थियो।  घटनास्थलमा जडित सिसिक्यामेरा फुटेजका आधारमा मोटरसाइकलको पहिचान गरेर सोमबार दिउँसो ३ बजे माझीलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो।  उनको घरमा मोटरसाइकलका विभिन्न भाग फुटेको तथा कुच्चिएको अवस्थामा फेला पारेको छ।

पक्राउ परेका माझीलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 
 

सुझावित समाचार