उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

उदयपुर। उदयपुरको कटारी नगरपालिका– ४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। ब्रेक फेल भएपछि जिप सडकबाट करिब १० मिटर तल खसेको हो।

प्रहरीका अनुसार प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटनामा परेको हो। दुर्घटनामा जिपचालकसहित १५ जना घाइते भएका छन्।

घाइते हुनेमा जिपचालक उदयपुरको कटारी नगरपालिका– ११ निवासी २९ वर्षीय निर्पबहादुर खड्का, झापाको बिर्तामोड नगरपालिका– ६ निवासी ३७ वर्षीया मेनुका मगर भुजेल, उनका १४ वर्षीय छोरा रेहान भुजेल र सात वर्षीया छोरी प्रिन्सिका भुजेल रहेका छन्।

त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ५ निवासी १६ वर्षीया तेन्जु लामा, कटारी नगरपालिका– २ निवासी ७१ वर्षीय रामबहादुर मगर, उनकी ३५ वर्षीया छोरी लिसना मगर, ६० वर्षीया गोमा श्रेष्ठ, ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल पनि घाइते भएका छन्।

दुर्घटनामा कटारी नगरपालिका– ११ निवासी २१ वर्षीया निर्मला राउत, २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरीको गौशाला नगरपालिका– १ निवासी ३५ वर्षीया कविता रेग्मी तथा सिन्धुलीको दुधौली नगरपालिका– ११ निवासी प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेलसमेत घाइते भएका छन्।

घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

जिपचालक खड्का सामान्य घाइते भएकाले उपचारपछि उनलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार