चौथो बेलौरी कृषि पर्यटन महोत्सव सुरु

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

कञ्चनपुर/ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला’ सुरु भएको छ। ‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बेलौरीको आधार’ भन्ने मूल नाराका साथ सोमबारदेखि बेलौरीको खुला मञ्चमा महोत्सव सञ्चालनमा आएको हो।

कृषिका लागि उर्वर भूमि मानिने बेलौरीमा दक्षिणी क्षेत्रको व्यापार, पर्यटन, कृषि तथा विविध सांस्कृतिक पक्षको प्रवर्द्धन गर्ने उद्देश्यले चौथोपटक महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशराज पन्तले खस्किँदो व्यापारलाई चलायमान बनाउने, छोटी भन्सार नाकाको स्तरोन्नति गर्ने तथा यस क्षेत्रको कृषि, पर्यटन, व्यापार र परम्परागत लोक संस्कृतिको प्रवर्द्धन गर्दै आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनले बेलौरीको पर्यटन, धार्मिक क्षेत्र, कृषि तथा औद्योगिक विकासमा महोत्सवले योगदान पुर्याउने विश्वास व्यक्त गरे।

महोत्सवमा सयवटा स्टल राखिएका छन्। ती स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला, औद्योगिक सामग्री तथा आधुनिक प्रविधिको प्रदर्शनी गरिएको छ। स्थानीय किसानले उत्पादन गरेका जैविक वस्तुहरू पनि प्रदर्शनीमा राखिएका छन्। स्थानीय उद्योगी तथा व्यवसायीलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

जिल्लाकै पहिलो सदरमुकामसमेत रहेको बेलौरीमा आयोजना गरिएको महोत्सवले यस क्षेत्रको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुका साथै स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले एक कार्यक्रमबिच महोत्सवको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा उनले निजी र सरकारी क्षेत्रको संयुक्त साझेदारीमा सञ्चालन भएको महोत्सवले नगरको कृषि, पर्यटन तथा औद्योगिक विकासमा टेवा पुर्याउने बताए। नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उनले महोत्सवले स्थानीय कृषि उत्पादनको प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसअघि तीन संस्करण आयोजना गरिसकेको बेलौरी उद्योग वाणिज्य संघले यसपटक चौथो संस्करणको महोत्सव हिउँदमा सञ्चालन गरेको हो। कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

महोत्सवको अर्को मुख्य आकर्षणका रूपमा स्थानीय थारू तथा पहाडी समुदायको संस्कृति झल्काउने कार्यक्रम प्रस्तुत गरिनेछ। साथै, स्थानीय तथा राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

महोत्सव सञ्चालनका लागि करिब ३० देखि ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने आयोजकले ४० लाख रुपैयाँको अनुमानित बजेट तय गरेको छ। महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी तथा सांस्कृतिक समूहलाई आफ्ना उत्पादन, कला र सिप प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई एक सय रुपैयाँ र विद्यार्थीलाई सहुलियतस्वरूप ७५ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

११ दिनसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवर्द्धन गर्दै कृषि, उद्योग तथा पर्यटन क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोल्ने विश्वास आयोजकले व्यक्त गरेको छ। बेलौरी उद्योग वाणिज्य संघले पछिल्ला चार वर्षदेखि नियमित रूपमा महोत्सव आयोजना गर्दै आएको छ। आगामी २० कात्तिकसम्म सञ्चालन हुने महोत्सवमा हजारौँ दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

सुझावित समाचार