काठमाडौं। विजयादशमीदेखि सुरु भएको बडादसैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज द्वादशीका दिन पनि जारी रहेको छ। रातो टीका र पहेँलो जमरा लगाएर नेपालीहरू मान्यजन तथा आफन्तकहाँ पुग्ने र आशीर्वाद लिने क्रम जारी राखेका छन्।
बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। तर, टाढा रहेका माइती, मावली तथा अन्य आफन्तकहाँ एकै दिन पुग्न सम्भव नहुने भएकाले विजयादशमीपछिका दिनमा पनि टीका लगाउने चलन रहँदै आएको छ।
विजयादशमीका दिन टीका थाप्न नभ्याएका चेलीबेटी, परिवारका सदस्य तथा आफन्तहरू अहिले मान्यजनको घरमा पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्। यसले पारिवारिक भेटघाट र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।
नेपाली परम्पराअनुसार दसैँको टीका लगाउने क्रम विजयादशमीदेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्म चल्ने गर्छ। यस अवधिमा आफन्त तथा मान्यजनसँग भेटघाट गरी टीका, जमरा र आशीर्वाद लिने परम्पराले बडादसैँको सांस्कृतिक तथा पारिवारिक महत्त्वलाई झल्काउँछ।